गोदावरीका चार वडाध्यक्षले ठेकेदार विरुद्ध आन्दोलन गर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका चार वडाध्यक्ष ठेकेदारको विरुद्ध वडा कार्यालयको सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन्। गोदावरी नगरपालिका वडा नम्बर ३, १०, ११ र १२ का वडा अध्यक्षहरू वडा कार्यालयको सेवा नै ठप्प पारेर ठेकेदार विरुद्ध आन्दोलनमा उत्रिने भएका हुन्।

वडा अध्यक्षहरूले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषय जानकारी गराएका हुन्। चौकीडाँडा–फल्टुडे सडक खण्ड ६ वर्षसम्म पनि निर्माण नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै वडाध्यक्षहरु सामूहिक आन्दोलनमा उत्रिएका हुन्।

वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थी, वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का अध्यक्ष प्रेमसिंह बडैला र वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्कासहितका जनप्रतिनिधिहरु अब सडकमै बसेर सेवाप्रवाह गर्न तयार भएको बताएका छन्।

दैनिक यातायात अवरोध, जनताको दुःख र लामो प्रतीक्षापछि पनि सुनुवाइ नहुँदा यस्तो कदम चाल्नुपरेको जनप्रतिनिधिहरूको गुनासो छ। स्थानीयले पटक–पटक नगरपालिका, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा दवाव दिए पनि सडक निर्माणको काम अगाडि नबढेको गुनासो जनप्रतिनिधिहरूले गरेका हुन्।

ठेक्का पाएको निर्माण कम्पनीले काम नगरेको र सम्बन्धित निकायले कुनै कारबाही नगरेपछि वडाध्यक्षहरुले सडकमै कामकाज गरेर सरकार र निर्माण कम्पनीलाई दवाव दिन लागेका हुन्।

जनप्रतिनिधिहरुले तत्काल निर्माण कम्पनीलाई प्रकाउ गरी काम सुरु गराउन वा ठेक्का रद्द गरी अन्य सक्षम कम्पनीमार्फत काम अघि बढाउन माग गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.