कैलाली कारागारबाट भागेका केही कैदी आए सम्पर्कमा

धनगढी : जेनजी आन्दोेलनकारीले कैलाली कारागार कार्यालयमा आगजनी र तोडफोड गरेपछि कारागारबाट भागेका केही कैदीबन्दी कारागार कार्यालयकोे सम्पर्कमा आएका छन् ।

हुलमुलमा कुटपिट हुन सक्ने डरले मंगलबार भागेको भन्दै केही कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जानकारी दिएको छ । उनीहरुले विहानदेखि फोन गरेर आफूहरु फर्केर कारागारमा आउन चाहेको जेलर चिरञ्जिवी सापकोटाले बताए । “सबै कैदी खराब आचरणका थिएनन” उनले भने, “असल आचरण भएका केही कैदीहरु आफै सम्पर्क गरेर फर्कने बताएका छन् ।”

जेनजी आन्दोलनकारीले कारागारमा तोडफोड गरेपछि कारागारमा रहेका ६६७ कैदीबन्दीमध्ये एक जनाबाहेक सबै निस्केर गएका थिए । ठुलो संख्यामा आन्दोेलनकारी आएर तोडफोड र आगजनी गरेको र कैदीलाई भगाएको कारागार प्रशासनले जनाएको छ । कारागारको सीसी टिभी, कम्प्युटर, टिभी, भिडियो कन्फरेन्समार्फत पेसीमा सहभागी हुने टिभी सबै फुटाएको जनाइएको छ ।

सुरक्षाको दृष्टिकोणले तत्काल कैदीबन्दी राख्न सकिने अवस्था पनि नरहेको जेलर सापकोटाले बताए । उनले कैदीबन्दी भागेपछि सुरक्षा चुनौती झन बढेको उल्लेख गरे । गत साउन २३ गते कैलाली कारागारमा दुई पक्षका कैदीबन्दीबिच हिंसात्मक झडप भएको थियो । झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो । ४८ जना घाइते भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.