अत्तरिया, ३१ भदौ : कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा रहेको डीडीसी गत जेठ ८ गतेदेखि स्थानीयको विरोधका कारण तालाबन्दीमा थियो । मंगलबार बिहान सर्बदलीय सर्वपक्षीय बैठक बसेर तालाबन्दी खोल्ने निर्णय गरिएको हो । बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, राजनीतिक दलका प्रतिनिधि तथा संघर्ष समितिका सदस्यहरू सहभागी थिए ।
२०६७ सालमा स्थापना भएको यो कार्यालयलाई धनगढीमा स्थानान्तरण गर्ने निर्णय भएपछि स्थानीय स्तरमा विरोध चर्किएको थियो । किसानहरूको भुक्तानी रोकिँदा थप समस्या उत्पन्न भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले बताए । डीडीसीका प्रबन्धक भट्टराईले मासिक ४० हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको भए पनि किसानलाई समयमै भुक्तानी दिन नसक्दा समस्या गहिरिएको जानकारी दिए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले डीडीसीलाई स्थायी रूपमा सञ्चालन गर्न उपयुक्त जग्गा पहिचान गरी नगरपालिकाले डिडिसीको केन्द्रमा प्रतिबेदन सहित पठाइसके पनि प्रतिवेदनको औपचारिक प्रतिक्रिया अहिलेसम्म नआएको बताए ।
मंगलबार बिहान सर्वदलीय, सर्वपक्षीय सहमतिपछि कार्यालय पुनः सञ्चालनमा आएसँगै किसान र कर्मचारीले ठूलो राहत पाएका छन् । किसानलाई नियमित भुक्तानी हुने र दुग्ध व्यवसाय स्थिर हुने अपेक्षा गरिएको छ ।
नगरप्रमुख वीरेन्द्र भट्टले भने, “डीडीसी स्थानान्तरणको विषयले यहाँका किसानलाई ठूलो मार परेको छ । किसानले उत्पादन गर्ने दूध समयमै प्रशोधन र बजारसम्म पु¥याउन नसक्दा उनीहरू आर्थिक संकटमा परेका थिए । नगरपालिकाले डीडीसीलाई दीर्घकालीन समाधानका लागि आवश्यक जग्गा पहिचान गरी उपलब्ध गराइसकेको छ । अब सबै सरोकारवालाको सहकार्यमा यो संस्था स्थायी रूपमा अत्तरियाबाट नै सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता छ ।”
त्यसैगरी दुग्ध विकास संस्थान केन्द्रिय कार्यालयबाट आएको पत्रका कारण अत्तरियामा नै कार्यालय राखेर संचालन गर्ने पत्र पुगे पश्चात आज तालाबन्धी खुलेको छ । निमित्त महाप्रबन्धक संजिव झाले पठाएको पत्रमा प्रशासनिक, आर्थिक तथा उत्पादन सम्बन्धी सम्पूर्ण कार्यहरू हाललाई अत्तरियाबाट नै सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
सम्बन्धित पाेस्टहरु