अत्तरिया : धनगढीमा केन्द्रीय कार्यालय र अत्तरियामा शाखा कार्यालय मार्फत सञ्चालित सामाजिक संस्था दृष्टि फाउन्डेसनले समाजसेवामा उल्लेखनीय योगदान पु-याएका व्यक्तित्वहरूलाई विशेष सम्मान गरेको छ ।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान समारोहमा युवा नेता लोकराज पाण्डेय ‘आगो’ लाई संस्थाको संरक्षक/अभिभावकका रूपमा सम्मान गरिएको हो । सोही कार्यक्रममा अमेरिकामा रहँदै आएका समाजसेवी रामबहादुर देउवालाई समेत संरक्षण अभिभावकका रूपमा सम्मान प्रदान गरिएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष कल्पना भट्टको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रदेश सांसद धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए । उनले विकास भनेको पूर्वाधार मात्र नभएको बताए । उनले समाजमा रहेका पछाडी परेका समुदायलाई अधिकार सुनिश्चित गर्ने काम पनि गौरवको योजना बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा धनगढीका पूर्वनगर प्रमुख नृपबहादुर वड, जिल्ला समन्वय समिति सदस्य टिका भूल चौधरी, उद्योग वाणिज्य संघ धनगढीका अध्यक्ष पुष्करराज ओझा, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति थियो ।
धनगढीको सुप क्षेत्रमा रहेको दृष्टि फाउन्डेसनमा हाल ९० जना भन्दा बढी आश्रित व्यक्तिहरू बसोबास गर्दै आएका छन् । बेघर र असहाय नागरिकका लागि “बेघरको घर” बनेको यो संस्था समाजसेवामा प्रेरणादायी उदाहरण बनेको छ । दृष्टि फाउन्डेसनलकी सञ्चालिक रहेकी भट्टले धनगढीको त्रिभुवन मावि बोराडाँडी धनगढीबाट २०५८ सालमा एसएलसी गरेकी हुन् । त्यसपछिको स्नातकसम्मको अध्ययन उनले काठमाडौंको पदमकन्या क्याम्पसबाट गरिन् । त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
काठमाडौं रहँदा उनले पढाइसँगै विभिन्न संघ–संस्थामा काम गरेकी थिइन् । मानव सेवा गर्ने विभिन्न संस्थामा काम गर्दागर्दै कल्पनामा असहायहरूको रेखदेख गर्ने सोच आएको थियो ।
पढाइ सकेपछि केही वर्ष जागिर गरेर उनी घर (धनगढी) फर्किन् । धनगढी उपमहानगरपालिकाका सडकमा उनले मानसिक सन्तुलन गुमाएका थुप्रै असहाय महिला देखिन् । ती महिलाले कसैले दिए खान्थे भने नदिए भोकै रहनुपथ्र्यो । महिलाहरूलाई यस्तो अवस्थामा देखेपछि अन्ततः विवाह नै नगरी कल्पनाले २०७३ असारदेखि दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएकी हुन् ।
विवाह नै नगरी मानव सेवामा लागेकामा कल्पनाको परिवार सन्तुष्ट भने छैन । ‘मानव सेवा गर्नु राम्रो हो, तर बिहे नगरी म यसैमा खटिएकी छु, त्यसैले मेरो परिवारका सदस्यको चित्त अलिकति बुझेको छैन,’ ३७ वर्षीया कल्पना भन्छिन्, ‘यहाँ रहेका मानसिक सन्तुलन गुमाएका दिदीआमाको पीडा देख्दा कसैले पनि विवाहका बारेमा सोच्नै सक्दैैन ।’ सम्मान कार्यक्रमको सञ्चालन पत्रकार टेकेन्द्र देउवाले गरेका थिए ।