बाजुरा,कार्तिक ५। लामो समयदेखि सडक अबरुद्ध हुँदा रोकिएको कोल्टी बस सेवा पुनः सञ्चालनमा आएपछि बाजुराको पूर्वी उत्तर क्षेत्र कोल्टीका स्थानीय हर्षित भएका छन्।
अविरल वर्षाका कारण मार्तडी–कोल्टी सडकअन्तर्गत पर्ने जिल्ली सडक खण्डमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो। यसले गर्दा कोल्टी पुग्ने सवारी साधनहरु मार्तडीमै रोकिँदै आएका थिए।बुढीनन्दा नगरपालिकाले सडक मर्मत तथा सफाइको काम तीव्र बनाउँदै पुनः बस चलाउन सफल भएको हो।
नगरपालिकाले दशैंअघि नै जिप सेवा सञ्चालनमा ल्याए पनि बस सञ्चालन भने हालै मात्र सम्भव भएको हो। गत भदौदेखि सुरू भएको मर्मत कार्यले गति लिएसँगै कोल्टीसम्म बस सेवा पुगेको हो।ना ५ ख ५२५८ नम्बरको बसका मालिक टीका थापाका अनुसार सडक सुक्खा रहन सकेमा अब कोल्टीबाट दैनिक रुपमा धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौंसम्म बस सेवा सञ्चालन हुनेछ।
“पहिले कोल्टीका स्थानीयलाई बस चढ्न मार्तडी जानुपर्ने बाध्यता थियो, जुन खर्चिलो थियो। अब कोल्टीमै बस चढ्न पाउँदा यात्रुहरू सहज महसुस गर्दैछन्,” थापाले बताए।नगरप्रमुख जनकबहादुर बोहराले दीवालीको मुखमा बस सेवा कोल्टीसम्म पु¥याउनु सुखद उपलब्धि भएको बताए। उनले भने,“अबको मुख्य समस्या बाउली दानसाँग खोलामा पुल निर्माण नहुनु हो।
यसका लागि पहल थालेका छौं।साथै,कालोपत्रे कार्यलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।”उनका अनुसार छिट्टै पुल र सडक कालोपत्रे कार्य अघि बढ्नेछ। त्यसपछि हिउँद, बर्खा जे सुकै मौसममा पनि दुर्गम बस्तीका स्थानीयले कोल्टीबाटै देशभर सहज बस सेवा लिन सक्ने छन्।स्थानीयवासीका लागि यो विकास सास्तीको अन्त्य मात्र नभई भविष्यमा यातायात तथा आर्थिक गतिविधिमा समेत नयाँ गति ल्याउने आशा गरिएको छ।