सुदूरलाई मात्र होइन, मुलुकलाई देउवाको आवश्यकता छ : मुख्यमन्त्री शाह

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम मात्र होइन, समग्र मुलुकलाई नै शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन।
शुक्रबार डडेल्धुरा जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन।
मुख्यमन्त्री शाहले डडेल्धुरालाई देशको पवित्र भूमि भन्दै यसको प्रशंसा गरे उनले भने, “यो भूमिले देशको पाँच–पाँच पटक नेतृत्व लिने शेरबहादुर देउवा जस्ता व्यक्तित्वलाई जन्म दिएको छ।” देउवाको योगदानको स्मरण गर्दै मुख्यमन्त्री शाहले भने, “शेरबहादुर देउवाले सधैं जनताको अधिकारका लागि अग्रपंक्तिमा रहेर संघर्ष गरे । विगतका आन्दोलनहरूमा ज्यानमाथि खतरा आइरहँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन।”
मुख्यमन्त्री शाहले आफू “सरकार र संविधान छँदैछ भन्ने सन्देश दिन प्रदेशका विभिन्न जिल्लामा उपस्थित भएको” बताए । उनले भने, “जेन्जी आन्दोलन अकल्पनीय थियो। हामी सबैले आ–आफ्नो ठाउँबाट सच्चिनु जरुरी छ।”
राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुने विश्वास मुख्यमन्त्री शाहले व्यक्त गरे।
आफूले वाचा गरेअनुसार प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेको र त्यसको केही समयपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आफ्नो प्रमुख नीति भएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.