अत्तरिया : जेनजी आन्दोलनमा क्षति पुगेको भूमि सुधार तथा मालपोत कार्यालय कैलालीले साविककै अवस्थामा सेवा दिन थालेको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनीबाट ठूलो क्षति पुगेको मालपोतले साविककै अवस्थामा सेवा सुरु गरेको हो ।
आन्दोलनमा कार्यालयका सवै भौतिक र अत्याआवश्यक पर्ने सामाग्री जलेका कारण एक करोड बढीको क्षति कार्यालयले जनाएको छ ।
आन्दोलनको क्रममा नेटवर्क वाइरिङ, कम्युटर,महत्वपूर्ण केही रजिष्टर लगायतका सामान जलेर नष्ट हुँदा गत असोज ७ गतेबाट आंशिक सेवा सुरु गरेको भूमि सुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले जानकारी दिए ।
बैंक,सहकारी,संस्थाहरुले कम्प्युटर, फर्निचर लगायतका सामाग्रीको सहयोगले काम गर्न केही सहज भइरहेको उनले बताए । ‘अझै कम्युटर,मेसेनरी सामान अपुग छ, हामीले विभागसँग पनि सहयोग लागि पत्र पठाएका छौँ’ उनले भने ‘स्थानीय तहलाई पनि सहयोग गर्न भनेका छौँ ।’