अत्तरिया : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको कैलालीमा बालविवाह रोकिन नसक्दा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीहरूको संख्या वर्षैपिच्छे बढ्दो छ । प्रदेशको सुँगम जिल्ला मानिएको कैलालीमा कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरे पनि बस्ती–बस्तीमा बालविवाह र प्रारम्भिक मातृत्वको क्रम रोकिएको छैन ।
यसले आमा र नवजात शिशुको स्वास्थ्यमा दीर्घकालीन जोखिम बढाइरहेको चिकित्सकहरूको चेतावनी छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार गत आर्थिक वर्षको सात महिनामै ८ सय ८१ जना महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन् । सेती प्रादेशिक अस्पतालमा मात्रै ३ सय ५ जना किशोरी सुत्केरी भएका छन् । यो तथ्यांकले सामाजिक मान्यता, कमजोर जागरूकता र स्वास्थ्य शिक्षाको कमीका कारण बालविवाह अझै जरा गाडिरहेको देखाउँछ ।
स्थानीय तहहरूको तथ्यांकले जिल्लाभित्र पनि ठूलो असमानता देखाउँछ । टिकापुर नगरपालिकामा ९५ जना किशोरी २० वर्षअघि नै आमा बनेका छन्, जुन कैलालीकै सर्वाधिक हो । लम्कीचुहा नगरपालिकामा १७ जना मात्र किशोरी सुत्केरी भएका छन्, जुन जिल्लामा सबैभन्दा कम हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले यी तथ्यांकहरू ‘डरलाग्दो’ भएको टिप्पणी गर्दै भने, “यो छोटो अवधिको तथ्यांक हो तर चिन्ताजनक छ । टेक्नोलोजीको सही उपयोग, अभिभावकको भूमिका र सम्बन्धित निकायको जागरूकता अत्यन्त आवश्यक छ ।”
नेपालमा पुरुष–महिला दुवैले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था छ । बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार—२० वर्ष नपुगी विवाह गर्ने वा गराउनेलाई ३ वर्षसम्म कैद, वा ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ । तर व्यवहारमा कानूनको कार्यान्वयन कमजोर हुँदा बालविवाह नियन्त्रणको प्रयास प्रभावहीन बनेको स्थानीयहरूकै गुनासो छ ।
किशोरी गर्भधारणले निम्त्याउने स्वास्थ्य जोखिम गम्भीर हुन्छन् । अत्यधिक रक्तस्राव, कुपोषण, जटिल प्रसूति, नवजात शिशु मृत्यु दरमा वृद्धि जस्ता समस्या बढी देखिने चिकित्सकहरूको भनाइ छ । गेटा अस्पतालका डा. जगदिश बिष्टका अनुसार, “यो उमेर पढ्ने हो । विवाह र मातृत्वले किशोरीको भविष्य अनिश्चित बनाउँछ। स्वास्थ्यमा पनि दीर्घकालीन समस्या निम्त्याउन सक्छ । त्यसैले २० वर्षअघि विवाह नगर्ने र नगराउने बानी बसाल्नु अत्यावश्यक छ ।”
कैलालीमा किशोरी मातृत्वसँगै घरमै प्रसूति गर्ने पुरानै अभ्यास पनि अन्त्य हुन सकेको छैन । तथ्यांकअनुसार— चुरे गाउँपालिकामा सबैभन्दा धेरै घरमै प्रसूति हुने गरेको छ । मोहन्याल, गौरिगंगा, गोदावरी, घोडाघोडी र लम्कीचुहा नगर–गाउँपालिका क्षेत्रमा पनि अस्पतालभन्दा घरमै बच्चा जन्माउने प्रवृत्ति उस्तै छ । स्वास्थ्यकर्मीहरूको भनाइमा घरमै प्रसूति गर्नु भनेको जटिलता र मृत्यु जोखिम बढाउनु हो । ढिलो उपचारले आमा र शिशु दुबैको ज्यानसमेत जोखिममा पर्न सक्छ ।