अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज (मंगलबार) औपचारिक रुपमा सुरु गरिएको छ । नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदादेवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक पुस्कर राज पन्त र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी खत्रीले नगर परिसरमा १६ वटा मैनबत्ती बालेर अभियानको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक पन्तले मालाखेतीमा दर्ता हुने लैङ्गिक हिंसाका उजुरीका तथ्यांक र त्यसको अवस्थाबारे जानकारी प्रस्तुत गर्दै स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बोल्दै उपप्रमुख शारदादेवी रोकायाले महिलामाथि भइरहेका विभिन्न प्रकारका हिंसाको अन्त्य गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताइन् । परिवार, समाज र संस्थागत तहबाट समानता र सम्मानको वातावरण बनाउन नसकेसम्म हिंसा उन्मूलन चुनौतीपूर्ण हुने उनको भनाइ थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी खत्रीले यस वर्षको अभियानलाई विशेष रूपमा विद्यालय तथा समुदाय केन्द्रित बनाइएको जानकारी दिइन् । उनका अनुसार १६ दिनसम्म विद्यालय–स्तरमा लैङ्गिक हिंसा रोकथामसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया, सार्वजनिक जानकारीमूलक कार्यक्रम, सडक नाटक र स्थानीय सञ्चारमाध्यममार्फत जनचेतनामूलक सामग्री प्रकाशन–प्रसारण गरिनेछ । उनले नगरपालिकाले नागरिकमैत्री र सुरक्षित समाज निर्माणलाई प्राथमिकतासाथ अघि बढाइरहेको उल्लेख गरिन् ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले लैङ्गिक हिंसा अन्त्यका लागि नगरपालिका संस्थागत रूपमा प्रतिबद्ध रहेको भन्दै सामाजिक चेतना, कानुनी ज्ञान र सुरक्षाको पहुँच बढाउन दीर्घकालीन योजना कार्यान्वयन भइरहेको बताए । उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्था, महिला समूह, विद्यालय प्रतिनिधि, स्थानीय सरोकारवाला र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने यो अभियान गोदावरी नगरपालिकामा पनि सक्रिय रूपमा सुरु भएको छ ।