धनगढी : कैलालीमा साढे ७ किलो चरेससहित चार जनालाई पक्राउ गरिएको छ । गोदावरी नगरपालिका २ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रबार साँझ साढे ६ बजे चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका ७ का बमबहादुर धामी (२९), ५ बस्ने जनक जाग्री (४२) , सुर्मा गाउँपालिका ३ का अमृत बोहरा (२५) र दार्चुलाको महाकाली नगरपालिका २ का रूपसिंह सितोली (५०) रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताए ।
उनकाअनुसार होटलमा चरेसको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले चारै जनालाई होटलबाटै नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।