धनगढी : सुदूरपश्चिम प्रदेशमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेशस्तरीय अभियान औपचारिक रूपमा सुरु गरिएको छ। प्रदेश युवा परिषदको आयोजनामा सुरु गरिएको यो अभियान कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर–५ स्थित मोहन्याल माध्यमिक विद्यालयको प्रांगणमा आयोजित विशेष समारोहबाट शुभारम्भ गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले लागूऔषध दुर्व्यसन आज समाजकै गम्भीर समस्याका रूपमा देखा परेको बताउँदै यसको नियन्त्रणका लागि प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको स्पष्ट पारिन्। “हाम्रा नानीबाबुहरू लागुऔषधको दलदलमा फस्दै गएका छन्। जनचेतनाको अभावका कारण यो समस्या झनै विकराल हुँदै गइरहेको छ,” उनले भनिन्, “त्यही कारण प्रदेश सरकारले अभियानकै रूपमा कार्यक्रम अघि बढाएको हो। यसमा सबैको सक्रिय साथ र सहयोग आवश्यक छ।”
उनले स्थानीय तहलाई हरेक वडा र टोलसम्म यो अभियान पुर्याउन आग्रह गर्दै विद्यालय, अभिभावक, शिक्षक, प्रहरी र समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तुलसी देवकोटाले लागूऔषधविरुद्ध सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्। “केवल पक्राउ र कारबाहीले मात्र लागूऔषध नियन्त्रण हुँदैन,” उनले भनिन्, “यो सामाजिक समस्या भएकाले यसलाई समाजकै अभियान बनाएर अघि बढाउनुपर्छ।”
कार्यक्रममा गौरिगंगा नगरपालिकाका मेयर देवीदत्त कँडेलले प्रदेश युवा परिषदले गौरिगंगाबाट अभियान सुरु गर्नु सकारात्मक कदम भएको भन्दै सफलताको शुभकामना दिए। पछिल्लो समय लागूऔषध दुर्व्यसनले समाजमा अत्यन्तै डरलाग्दो अवस्था सिर्जना गरिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि स्थानीय सरकार पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताए।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्याको रोकथाम र समाधानका लागि निरन्तर काम गरिरहेको बताए। लागूऔषध दुर्व्यसनलाई जटिल रोगको रूपमा लिइएको उल्लेख गर्दै उनले “यसबाट बच्ने र नियन्त्रण गर्ने विषयमा सरकार सजग भएर अघि बढेको” जानकारी दिए।
कार्यक्रममा हाँस्य कलाकार तथा युवा अभियन्ता राजा राजेन्द्र पोख्रेलले युवाहरू वर्तमान मात्र नभई देशको भविष्यसमेत भएकाले आफ्नो भविष्यप्रति सचेत हुन आग्रह गरे। “कसैको लहैलहमा लागेर आफ्नो जीवन नष्ट नगर्नुहोस्,” उनले भने, “आफ्नो परिवार र भविष्य निर्माणतर्फ ध्यान दिनुहोस्।”
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) निसान्त श्रीवास्तवले पछिल्ला वर्षहरूमा सुदूरपश्चिममा लागूऔषध बरामद र पक्राउ पर्ने संख्या उल्लेखनीय रूपमा बढिरहेको जानकारी दिए। “लागूऔषध ओसारपसारमा संलग्न केही गिरोह पहिचान गरी नाकाहरूमा विशेष चेकजाँच बढाइएपछि पक्राउ र बरामद दर बढेको हो,” उनले बताए। प्रहरीले यसविरुद्ध निरन्तर विभिन्न अभियान सञ्चालन गरिरहेको पनि उनले उल्लेख गरे।
प्रदेश युवा परिषदकी लेखापाल मिरा पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै कैलालीबाट सुरु भएको यो अभियान प्रदेशका सबै जिल्लामा विस्तार गरिने जानकारी दिइन्। कार्यक्रमको स्वागत मन्तव्य गौरिगंगा नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष बिस्णु भाटले दिएका थिए।
प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले परिषदले युवालाई सकारात्मक मार्गमा डोर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। “लागूऔषधविरुद्धको अभियानसँगै अन्य सामाजिक सचेतनामूलक अभियान पनि सञ्चालन गरिनेछ,” उनले भने। सीमित स्रोत र साधनका बाबजुद विभिन्न क्षेत्रसँग सहकार्य गर्दै परिषदले यो अभियान अघि बढाएको उनले जानकारी दिए।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी गरी ५ सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। सहभागीहरूले लागूऔषधविरुद्ध सामूहिक प्रतिबद्धता जनाउँदै अभियानलाई सफल बनाउने संकल्प व्यक्त गरेका थिए।