धनगढीमा अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

धनगढी : “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” मूल नाराका साथ धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ३४ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार धनगढी–१ स्थित जेन्जी मार्गमा सम्पन्न भएको छ। समापन समारोहमा उपप्रमुख कन्दकला रानाले अभियान अवधिभर सुदूरपश्चिमका ११ जिल्लाका २,०६८ महिला सहभागी भई विभिन्न सेवा प्राप्त गरेको जानकारी दिइन्। उनले भनिन्, “यो १६ दिने अभियानको अन्त्य होइन, उपमहानगरपालिकाबाट लैङ्गिक हिंसा अन्त्यका लागि निरन्तर प्रयास जारी रहनेछ।”

अभियानको शुभारम्भ मङ्सिर ९ गते धनगढीको चौराहादेखि जेन्जी मार्गसम्म प्रभातफेरीसहित गरिएको थियो। विश्वभर सन् १९९१ देखि हरेक वर्ष नोभेम्बर २५ (अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस) देखि डिसेम्बर १० (मानवअधिकार दिवस) सम्म १६ दिने अभियान मनाइँदै आएको छ।

अभियानका क्रममा जनचेतना अभिवृद्धि, पीडित महिलालाई परामर्श तथा कानुनी सहायता, प्रविधिको दुरुपयोग रोक्न सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
समापन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, सङ्घ–संस्था प्रतिनिधि र नागरिक समाजको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिँदै अभियानलाई वर्षभरि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

यो अभियानले प्रविधिको सही प्रयोगमा जोड दिँदै समुदायमा लैङ्गिक समानता र सुरक्षित वातावरण सिर्जना गर्ने अभियानको महत्त्वलाई पुनः पुष्टि गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.