धनगढी : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ । कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम एकल रूपमै सिफारिस गरेको हो ।
डडेल्धुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल रूपमै सिफारिस भएको जानकारी दिए । देउवाले केही दिनयता आफूलाई भेट्न पुग्ने नेता कार्यकर्ताहरूलाई डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्ने मनशायमा रहेको बताउन थालेका थिए ।
नेपाली राजनीतिमा २०४८ यताका सबै निर्वाचनमा उठेर निर्वाचन जित्ने नेता सभापति देउवा एक्ला पात्र हुन् । उनले डडेल्धुराबाट २०४८, ०५१ र ०५६ को प्रतिनिधिसभा निर्वाचन, २०६४ र ०७० को संविधान सभा सदस्य निर्वाचन, २०७४ र ०७९ को प्रतिनिधिसभा गरी सात पटक चुनाव जितिसकेका छन् । यस्तै २०६४ मा तत्कालीन कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि निर्वाचन जितेका थिए ।
यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस भएको जिल्ला सचिव हेमराज चटौतले बताए ।