कर्णाली चिसापानी जलविद्युत् अगाडि बढाइने : मन्त्री घिसिङ

धनगढी  : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाको दुगौलीमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत् प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गरे ।

विगतमा सन् २००१ भित्र निर्माणसम्पन्न गर्ने गरी सम्भाव्यता भएको तर आयोजना अगाडि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कर्णाली चिसापानी जस्ता मेगा परियोजना अगाडि बढाउनुपर्ने र उक्त आयोजनालाई दक्षिण एसियाली क्षेत्रकै नमुना आयोजनाको रूपमा विकास गर्न सकिने बताए ।

सरकारले कर्णाली चिसापानी नेपाल प्राधिकरणमार्फत अध्ययन गराउने निर्णय गरिसकेको छ । प्राधिकरणले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ । कर्णाली चिसापानी आयोजना बनेपछि नदीको प्रवाह नियन्त्रण हुनेहुँदा हाल रहेको नदी कटानको समस्या पनि दीर्घकालीन रूपमा समाधान हुने घिसिङले बताए । उनले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट जलविद्युत्गृह सञ्चालन गर्न स्थानीय जनता, उपभोक्ता समितिलगायतको सेयर स्वामित्व रहने गरी कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए । कम्पनी खोल्न सहमतिका लाथि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिँदै मन्त्री घिसिङले अर्थबाट सहमति आएपछि मन्त्रीपरिषद्बाट निर्णय गराई प्रक्रिया अगाडि बढ्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.