धनगढी । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेताहरू पराजित भएका छन् । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल र प्रदेश सरकारका वर्तमान मन्त्री वीरबहादुर थापा केन्द्रीय सदस्यको दौडमा पराजित भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक प्यानल समूहबाटै खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पूर्वमुख्यमन्त्री रावल निर्वाचित हुन सकेनन् । उनले जम्मा ९४३ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । अध्यक्ष ओलीको समूहमा नसमेटिएपछि थापाले भूगोल सुदूरपश्चिमतर्फबाट केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । मन्त्री थापाले निकै कम अर्थात् २३८ मत मात्रै पाएका छन् ।
त्यस्तै, एमालेका कैलाली जिल्ला इन्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । भूगोलतर्फबाटै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका रानाले ३८५ मत प्राप्त गर्दै पराजय व्यहोरा हुन् ।