नेपालको सबैभन्दा बढी बाघ भएको क्षेत्र शुक्लाफाँटामा गणनाको तयारी

धनगढी : नेपालमा सबैभन्दा थोरै क्षेत्रमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ ।

बाघको पछिल्लो सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत बाघ गणनाको तयारी गरिएको हो । नेपालमा तीन वटा क्लस्टर छुट्याएर बाघ गणना गरिँदै छ ।

तेस्रो क्लस्टर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको कार्य हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । गणनाका लागि निकुञ्जका तर्फबाट आन्तरिक सबै तयारी पूरा भइसकेको उनको भनाइ छ ।

सन् २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ अभिलेख भएका थिए तर निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका छन् । गत वर्ष आन्तरिक अनुगमनमा ४४ बाघ क्यामरा ट्र्यापमा परेकामा यस वर्ष एउटा घटेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
क्यामरामा नपरेको वा मृत्युको कारण यस पटक एउटा बाघ फेला नपरेको हुन सक्ने वाग्लेको भनाइ छ । उनका अनुसार निकुञ्जमा दुई वटा बाघ प्राकृतिक कारणले मरिसकेका छन् ।

सानो क्षेत्रफल रहेको शुक्लाफाँटामा बढी बाघ रहे पनि व्यवस्थापनमा समस्या भने नरहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्ज क्षेत्रमा आहारा प्रजातिको घनत्व पर्याप्त रहेका कारण निकुञ्जका बाघले समस्या नगरेको बताइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा आहारा प्रजातिको घनत्व १४६ रहेको छ । आहारा प्रजातिको यो अवस्था नेपालमै सबैभन्दा बढी रहेको सूचना अधिकारी वाग्लेले बताए ।

उनका अनुसार बाघलाई हप्तामा ५० केजी जति मासु चाहिन्छ । यो वन्यजन्तुले एक हप्तामा एक पटक सिकार गर्ने गरेको जनाइएको छ । मृग प्रजाति बाघका आहारा प्रजाति हुन् । नेपालमा पाइने छ प्रकारका मृगमध्ये कस्तूरीबाहेक जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । बाघ गणनासँगै बाघको आहारा प्रजातिको पनि गणना गरेर घनत्व निकालिने गरेको सूचना अधिकारी वाग्लेले बताए ।

एउटा भाले बाघ ५० देखि ६० वर्गकिलोमिटर र पोथी बाघ २० देखि ३० वर्गकिलोमिटर क्षेत्र बनाएर बस्ने गरेको जनाइएको छ । नेपालमा प्रत्येक चार वर्षको अन्तरालमा बाघको राष्ट्रिय गणना गर्ने गरिन्छ । चितवन, बाँके, बर्दियामा गणना सकेर अन्तिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले बताए । बाघ गणनाका लागि स्वचालित क्यामरासहित निकुञ्जका दुई जना कर्मचारी पनि चितवनतिरै गएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । नेपालमा सन् २०२२ को तथ्याङ्क अनुसार ३५५ वटा बाघ रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.