अत्तरिया : सुदूरपश्चिममा पहिलो पटक अन्तराष्ट्रिय चेनको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । बेलायतमा मुख्य कार्यालय रहेको होलीडे ईन रिसोर्ट र धनगढीको क्लब चौलानी लिमिटेडबीच सोमबार होटल ब्यस्थापन सम्झौता भएको हो ।
काठमाण्डौंको बुढानीलकण्ठमा रहेको होटल होलीडे ईन रिसोर्टमा भएको एक समारोहमा क्लब चौलानी लिमिटेडको तर्फबाट अध्यक्ष डा. राजेन्द्र केसी र होलीडे ईनका तर्फबाट होटलका दक्षिण एशियाका प्रबन्धनिर्देशक सुदीप जैनबीच होटल ब्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।
होटल होलीडे ईन विश्वका एकसय भन्दा बढी देशमा चेन होटलहरु छन । यसका होटलहरूमा साधारण कोठा, रेस्टुरेन्ट, बैठक स्थलहरू, परिवार मैत्री सुविधाहरू आदि हुन्छन् । यसले सबै होटलमा आफ्नो लगानी गर्दैन । यसले आईएचजी ब्राण्डलाई विश्वब्यापी रुपमा विस्तार गर्दै आएको छ भने यसले होटल निर्माणका लागि स्थानीय लगानीकर्तालाई प्रोत्साहन गर्दछ ।
धनगढीमा बन्न लागेको होटलमा अन्तराष्ट्रिय मापदण्डका ११५ कोठाहरु हुनेछन । ती मध्ये ५ वटा प्रिमियम सुईट कोठाहरु हुने लगानीकर्ता क्लब चौलानीले जनाएको छ । होटल निर्माणमा कुल २ अर्व २० करोडको लगानी हुने बताईएको छ । त्यसमा ६५ प्रतिसत अथवा एक अर्व ४३ करोड बैंकको ऋण तथा ७७ करोड प्रबर्धकहरुले लगानी गर्नेछन ।
धनगढीमात्रै होईन, सुदूरपश्चिमका लागि यो पहिलो अन्तराष्ट्रिय ब्राण्डको पाँच तारे चेन होटल हुनेछ । यसको १८ हजार ५० फुटमा अत्याधुनीक क्यासीनो, ७ सय जना क्षमताको ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, अत्याधुनीक फिटनेस सेन्टर र विभिन्न बैठक कक्षहरु निर्माण भईरहेका अध्यक्ष डा. राजेन्द्र केसीले बताए ।
धनगढी, भारतको उत्तरप्रदेश र उत्तराखण्डसँग जोडिएको शहर हो । दुबै प्रदेशका पर्यटकहरुलाई मात्रै लक्षित गर्ने हो भने त्यहाँ पाँचतारे होटलको राम्रो सम्भावना रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए ।
धनगढीको चौलानी डिपार्टमेन्टल स्टोर भएकै स्थानमा होलिडे ईनको निर्माण तिब्र गतीमा भईरहेको छ । ३५ कोठा अबको २ महिनापछि सञ्चालनमा आउने तर होटलको पुरै निर्माण सकिन भने १२ देखि १५ महिना लाग्ने होलिडे ईनका निर्देशक मान सिह साउदले बताए ।