प्रयोग नहुँदा जीर्ण बन्दै धनगढीको ‘होल्डिङ सेन्टर’

अत्तरिया : कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा तीन वर्ष अगाडि सङ्घीय सरकारले निर्माण गरेको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन छ ।

निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी भइसक्दासमेत स्वामित्व हस्तान्तरण नहुँदा उक्त ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो । ‘होल्डिङ सेन्टर’को स्वामित्व हस्तान्तरणको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

“नेपाली सेनाले निर्माण गरेको हो । सञ्चालन ढाँचा के हुने भनेर रक्षा मन्त्रालयबाट आउनुपर्ने हो । अहिलेसम्म केही जानकारी आएको छैन”, उनले भने, “होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको छ ।” एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक, २० वटा क्वारेन्टिन, दुई वटा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा भान्साकोठा निर्माण गरिएका उनले जानकारी दिए । सङ्घीय सरकारको रु २८ करोड ८१ लाख लागतमा विसं २०७८ वैशाखमा निर्माण सुरु भएको ‘होल्डिङ सेन्टर’ विसं २०७९ साउनमा निर्माण सम्पन्न भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.