फेरियो सुदूरपश्चिममा बालविवाह गर्नेको स्वरुप, भागेर गर्छन बालबालिका विवाह

धनगढी : सुदूरपश्चिम प्रदेशका धेरै समुदायमा विगतमा अभिभावकले जबरजस्ती बालविवाह गरिदिने प्रचलन थियो । अहिले भने सचेतना बढेसँगै अभिभावक त रोकिएका छन् । बालबालिका भने आफैँ भागेर विवाह गर्न थालेका छन् ।

लू निभा बाल सरोकार समूह र शिक्षा अधिकार अनुगमन समूह नेपालद्वारा धनगढीमा आयोजित एक कार्यक्रममा बालविवाहले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे छलफल भयो । उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालविवाहको स्वरुप फेरिएको र यसले बालबालिकाको भविष्यमा जोखिम निम्त्याइरहेको चिन्ता व्यक्त गरे ।

धनगढी नगरस्तरीय बाल सञ्जालका अध्यक्ष मातृकाप्रसाद उपाध्यायका अनुसार बालविवाह हुनुमा गरिबी, देखासिखी, सामाजिक सञ्जालको दुरुपयोग र पुराना संस्कारहरू मुख्य कारण हुन् ।
‘बालसञ्जालकै एक किशोरले एक वर्षअघि बालविवाह गरे । उनलाई सम्झाउन र विवाह छुटाउन खोज्दा उल्टै समस्या पैदा हुने गरेको छ । अहिलेको पुस्तामा प्रेमको नाममा सानै उमेरमा भाग्ने प्रवृत्ति डरलाग्दो छ ।’, उनले भने
विद्यालयमा सँगै पढ्ने साथिहरूले विवाह गरेको देख्दा छक्क पर्छन् । केही दिनअघि महोत्सवमा साथिले अचानक विवाह गरेर आएको देख्दा उनी छक्क परेका उनले सुनाए । उनको बुझाईमा कानुनको फितलो कार्यान्वयन र सामाजिक स्वीकृति नै यसको मुख्य जड हो
‘हाम्रो समाजले बालविवाहलाई बिस्तारै स्वीकार्छ । कार्ड नै छापेर भोज ख्वाइन्छ, अधिकारकर्मी र जनप्रतिनिधिहरूसमेत सहभागी भइदिन्छन् । यसले बालविवाह गर्नेहरूलाई थप प्रोत्साहन मिल्छ,’ उपाध्ययले भने ।

लू निभाका अध्यक्ष डा. रुपा मुनाकर्मीका अनुसार संस्थाले गरेको रिसर्च अनुसार अहिले ३३ प्रतिशत महिलाको विवाह १८ वर्ष मुनि हुने गरेको छ । विशेषगरी १३ देखि १९ वर्षको उमेर समूहमा आफैँ भागेर विवाह गर्नेहरूको संख्या उच्च छ ।
‘गरिबी, असुरक्षा, र लैंगिक असमानता त छँदैछ, तर अहिलेको मोबाइल संस्कृति, भिडियो, र चलचित्रले बालबालिकामा भ्रम पैदा गरिरहेको छ । खानपानका कारण शारीरिक रूपमा चाँडै परिपक्व देखिने तर मानसिक रूपमा तयार नहुने अवस्थाले पनि उनीहरूलाई विवाहको निर्णय लिन उक्साएको देखिन्छ ’, उनले भनिन् ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख झंकर रावल शिक्षाको अधिकार मौलिक हक भए पनि बालविवाहले यसलाई कुण्ठित गरेको बताउँछन् । १६ देखि २० वर्षको उमेरमा बालविवाहको दर बढी छ ।
‘बालविवाहले जन्मदर्तामा समस्या ल्याउँछ, जसले गर्दा बच्चाको पहिचान र राज्यबाट पाउने सुविधामा असर पर्छ । कैलालीको चुरे क्षेत्रमा यो समस्या झन् भयावह छ’, उनले भने ।

यस्तै, धनगढी उपमहानगरपालिका शिक्षा शाखाका घुम्मन बडायक ऐन कानुन मात्र बनाएर समस्या समाधान नहुने तर्क गर्छन् । ‘हामीले समस्याको जड पहिचान गर्नुपर्छ । बालबालिका किन भाग्छन ? उनीहरूलाई विद्यालय र घरमा कस्तो वातावरण दिइएको छ ? यसबारे गम्भीर हुन जरुरी छ ’ उनले भने ।

लू निभाका कार्यकारी निर्देशक तथा शिक्षा अधिकार अनुगमन समूहका राष्ट्रिय संयोजक नरेन्द्र डंगोलका अनुसार सुदूरपश्चिमका डडेल्धुरा लगायतका विभिन्न जिल्लामा आफैँ भाग्नेट्रेन्ड बढेको छ । बाआमाले रोक्न खोज्दा पनि लुकिछिपी भाग्ने र पछि समाजले स्विकार्ने अवस्थाले शिक्षाको स्तर खस्कँदो छ ।

विवाहपछि बालबालिकाहरू विद्यालय छोड्न बाध्य हुन्छन् । सानै उमेरमा आमा बन्दा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर समस्या आउँछ । पिसविनका जुद्ध रावल भन्छन्, बालविवाह गरेका जोडीहरूलाई कानुनी दायरामा ल्याउन खोज्दा अर्को ठूलो जोखिम हुन्छ ।
‘उनीहरूलाई जबरजस्ती छुटाउँदा आत्महत्या गर्ने वा घरबाट पलायन हुने डर हुन्छ । त्यसैले यो विषय अत्यन्तै संवेदनशील छ,’ उनले भने । नेपालको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई अपराध मानेको छ । गरिबी, मोबाइलको दुरुपयोग, र उत्साहित उमेरका कारण बालबालिकाहरू वालविवाहको शिकार बनीरहेका हुन् ।

दक्षिण एसिया र अफ्रिकामा गरिबीका कारण ५० प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाए पनि नेपालको सन्दर्भमा सचेतनाको अभाव र आधुनिक प्रविधिको नकारात्मक प्रभाव मुख्य चुनौती बनेको छ ।
बालविवाह रोक्न कानुनको डण्डा मात्र पर्याप्त छैन; बालबालिकालाई गुणस्तरीय शिक्षा, मानसिक परामर्श र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनु आजको आवश्यकता भएको विद्यार्थी संगीता भट्टले बताइन्
‘जबसम्म बालबालिका आफैँ आफ्नो भविष्यप्रति सचेत हुँदैनन्, तबसम्म यो भागेर विवाह गर्ने क्रम रोक्न कठिन देखिन्छ,’ उनले भनिन् । सहभागिहरुले सबैको सहकार्य मात्र बाल विवाह न्यूनीकरण गर्न सकीने जोड दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.