अत्तरियामा महोत्सव, आज चर्चित गायिका समीक्षा अधिकारी लगायत दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुति

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा बुधबार देखि सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ । रोकीएको महोत्सव दुई बर्षपछि सुरु गरिएको हो । विविध कारणले दुई बर्षमा हुन सकेको थिइन ।

सृजनशिल युवा क्लबको आयोजनामा अत्तरियाको पूर्वरोडस्थित खुला चौरमा सुरु भएको महोत्सवको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । उनले कार्यक्रम उद्घाटन गर्दै महोत्सवले सांस्कृति कला संरक्षण गर्नुका साथै आर्थिक गतिविधिहरु बढाउने विश्वास व्यक्त गरे । उनले रोकीएको मेलालाई सुचारु गर्ने आट गरेकोमा आयोजकको प्रसंसा गरे ।
उद्योग वाणिज्य संघले गत बर्ष मेला आयोजना गर्न नसकेको कारण अहिले क्लबले आयोजना गर्नुपर्ने अवस्था आएको उनले जोड दिए । ‘गत बर्ष महोत्सव हुन सकेन’, मेयर भट्टले भने । ‘यस बर्ष पनि उद्योग वाणिज्य संघले गर्ने छाटकाट देखिएन । त्यसपछि क्लव अगाडि सर्नु परेको हो ।’

जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले सुदूरपश्चिमको विकासमा छुट्याएको बजेट काटिएको उनले उल्लेख गरे । उनले जेन्जीहरुलाई यसमा आवाज उठाउन आग्रह गर्दै त्यसमा आफ्नो साथ रहने बताए ।
स्रोत अभावमा गोदावरीमा नागरिकहरुको अपेक्षा अनुसार विकास गर्न नसके पनि शिक्षा र स्वास्थ्यमा धेरै परिवर्तन भएको उनले बताए । उनले मेला सम्पन्न हुँदा सबै सुरक्षार्कीको साथ रहने विश्वास व्यक्त गरे । मेला सफलतापर्व सम्पन्नका लागि नगरपालिकको साथ रहने उनले बताए ।
सांस्कृतिक पहिचान संरक्षणसँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले गोदावरी क्षेत्रलाई थप चिनाउने मेयर भट्टले विश्वास व्यक्त गरे ।
पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने छ ।

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो । विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले आफूहरुले फेरि सुरु गरेको आयोजकले जनाएको छ ।

महोत्सवले अत्तरियाको आर्थिक कारोबारमा वृद्धि हुने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको १८० वटा स्टल रहेका छन् । महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति, बाल उद्यान, मनोरञ्जनात्मक मेला तथा थारु गाउँको विशेष प्रदर्शनी रहेको छन । थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परागत खानालाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवको मञ्च कार्यक्रमलाई आकर्षक बनाउँदै कलकार दुर्गेश थापा, पल शाह, समीक्षा अधिकारी, एलिना चौहान, चक्र बम, प्रभात पाल ठकुरी लगायत चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

महोत्सवका संयोजक नरबहादुर राईले अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नु, स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्नु, युवाहरूको सृजनशीलतालाई मञ्च प्रदान गर्नु तथा सामुदायिक एकता सुदृढ गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उल्लेख गरेका छन् । उनले महोत्सब आयोजना गर्न सहयोग गर्न हुन सम्पूर्ण संघ\संस्था व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्दै गोदावरी नगरपालिका क्षेत्रको पहिचान, प्रतिष्ठान सांस्कृतिक झल्काउने जमर्क गरेको बताए ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवद्र्धनसम्बन्धी सूचना स्टलहरू समेत रहनेछन् । अत्तरियामा दशकभन्दा बढी इतिहास बोकेको यो महोत्सव नक्कली ठेली विवादलगायत कारणले पछिल्ला दुई वर्ष आयोजना हुन सकेको थिएन ।

महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई सय रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.