मुलुकको असहज परिस्थितिलाई निकास दिने पार्टी कांग्रेस हो : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक असहज परिस्थितिमा नेतृत्व प्रदान गर्दै देशलाई निकास दिने पार्टी नेपाली कांग्रेस रहेको बताएका छन ।

शनिबार आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत लम्कीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेसप्रति समाजमा विभिन्न किसिमका अफवाह फैलाइएको भए पनि ती सबै निराधार र भ्रम मात्र भएको जिकिर गरे । उनका अनुसार आम जनता अझै पनि नेपाली कांग्रेसकै पक्षमा रहेका छन् ।

मुख्यमन्त्री शाहले नेपाली कांग्रेस एक वैचारिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र विभिन्न किसिमका वैचारिक मतान्तर रहे पनि कांग्रेस आफ्नो सिद्धान्तप्रति स्पष्ट र प्रतिबद्ध रहेको बताए । लोकतन्त्र, गणतन्त्र तथा संविधानप्रति नेपाली कांग्रेस स्पष्ट रहेको स्वीकार गर्दै उनले संविधानको रक्षा गर्न कांग्रेस जुनसुकै समर्पण गर्न तयार रहेको धारणा व्यक्त गरे ।

अर्को महाधिवेशन नहुँदासम्म नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाकै रहने जिकिर गर्दै मुख्यमन्त्री शाहले पार्टीभित्र विभिन्न तहका संरचनागत भूमिकामा रहेका उपसभापति, महामन्त्री तथा केन्द्रीय सदस्यहरूलाई मिलाएर अघि बढाउने क्षमता शेरबहादुर देउवामा रहेको ठोकुवा गरे ।

मुख्यमन्त्री शाहले नेपाली कांग्रेसले आफ्नो महाधिवेशनका लागि आवश्यक कार्यक्रमहरू तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिँदै महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्ने बताए । उनले क्षेत्रगत रूपमा क्रियाशील सदस्यता बितरणमा स्पष्ट मापदण्ड तयार गरी बितरण गरे ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले मुख्यमन्त्री शाहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै, विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई मुख्यमन्त्री शाहले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.