नेपाल-भारत सीमामा एसएसबी र सशस्त्र प्रहरीको संयुक्त गस्ती, सुरक्षा रणनीतिबारे छलफल

धनगढी : भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा सुरक्षा व्यवस्थालाई थप कसिलो बनाउन र आपसी समन्वय सुदृढ गर्ने उद्देश्यले शनिबार सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बल (एपीएफ) नेपालबीच संयुक्त गस्ती तथा समन्वय बैठक सम्पन्न भएको छ। ३९ औँ वाहिनी एसएसबीका कमाण्डेन्ट रवीन्द्र कुमार राजेश्वरीको निर्देशनमा बनकटीस्थित सी कम्पनी र एपीएफको जुगेडा (कैलाली) बीओपीबीच यो संयुक्त अभ्यास गरिएको हो।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी र सीमापार अपराध रोकथामका लागि दुवै देशका सुरक्षा निकायले सूचना आदान–प्रदान गर्ने सहमति गरेका छन्। बैठकमा सीमा सुरक्षालाई प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीति र भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न आपसी तालमेललाई अझ मजबुत बनाउने विषयमा गहन विचार विमर्श भएको थियो।

नेपालको तर्फबाट एपीएफका इन्स्पेक्टर बिशेष सिंह कार्कीको नेतृत्वमा हेड कन्स्टेबल खुम सुहार, रेशिम खत्री, शान्ते राम र अन्य जवानहरूको सहभागिता थियो। त्यस्तै, भारतको तर्फबाट एसएसबीका इन्स्पेक्टर विनोद खोजा, उप-निरीक्षक कुलदीप, सहायक उप-निरीक्षक प्रेम कुमार र आरक्षी शिवासहितका अधिकारीहरू उपस्थित थिए।

कार्यक्रमको अन्त्यमा आगामी अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा एसएसबीले नेपाली सुरक्षाकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको थियो। सो अवसरमा दुवै पक्षबीच मिठाई आदान–प्रदान गरी भारत र नेपालबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.