बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए ।
आज बिहान भएको जिप दुर्घटनामा परी सिगास गाउँपालिका –१ का २४ निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई डडेल्धुरा अस्पताल लगिएको छ ।
बैतडीको सुर्नया गाउँपालिका– ६ मोतिनगरबाट डडेल्धुरा तर्फ जादै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । जीपमा २० जनासम्म सवार रहेको बुझिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको हो। घाइतेहरुको उद्दारमा स्थानीय र प्रहरीको टोलि खटिएको छ । दुर्घटनाको एकीन विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ ।