लोटसआई माध्यमिक विद्यालयको असल अभिभावकत्व कार्यशाला

अत्तरिया : गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले अभिभावकत्व कार्यशाला सम्पन्न गरेको छ । अभिभावक र विद्यालय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले एक दिने सफल कार्यक्रम सोमवार धनगढीमा सम्पन्न गरेको हो ।

कार्यक्रममा असल अभिभावकत्व, बाल मनोविज्ञान, बालअधिकार तथा अभिभावकका दायित्वका विषयमा जानकारी प्रदान गरिएको हो । कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा परिचित मोटिभेटर (शैक्षिक यात्री) क्षेत्र प्रसाद ज्ञवालीले अभिमुखीकरण गर्दै अभिभावक र विद्यार्थी बीचको समझदारीले सिकाइ प्रक्रिया अझ प्रभावकारी हुने बारे चर्चा गरे ।

उनले अभिभावकको मार्गदर्शन विद्यार्थीको सफलता, शिक्षा घर र विद्यार्थीहरुलाई जोड्ने पुल भएको जोड दिए । अभिभावकले प्रेरणा दिन्छन् विद्यार्थीले उपलब्धि हासिल गर्छन्, अभिभावकको साथ विद्यार्थीको शक्ति भएको उनले बताए । मजबूत परिवार उज्ज्वल भविष्य, अभिभावक र विद्यार्थी प्रगतिका सहयात्री, विद्यार्थी र अभिभावक सँगै हिँड्दा शिक्षाको बल बढ्छ भन्ने कुरामा जोड दिँदै अभिभावकहरूलाई अभिमुखरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक गिरी राज कडायतले मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले देशभरिका २३ हजार विद्यालयमा अभिभावकहरूलाई गुड प्यारेन्सको ट्रेनिङ दिएको बताए । उनले लोटस आई स्कुलले २ वर्ष अघि पनि सफल अभिभावकत्व सम्बन्धी कार्यशाला आयोजना गरेको बताउँदै यसलाई निरन्तरता दिएको बताए । उनले बालबालिकाको चौतर्फी विकासका लागि आमाबुवाको ठुलो भूमिका हुने बताए । उनले बालबालिकालाई खराब भन्ने आमाबुवा मूर्ख भएको बताउँदै आमाबुवाकै गुण बालबालिकामा जाने भएकाले बालबालिकालाई दोष देखाउन नहुने बताए ।

स्कुलका प्रिन्सिपल मान बहादुर ऐरले विद्यालयले मात्रै बालबालिकाको विकास गर्न नसक्ने भएकाले सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने ‘विद्यार्थी भनेका काँचो माटो हुन । विद्यार्थीलाई जस्तो किसिमको सेप दिन चाह्यौ त्यस्तै बन्छ ।’ उनले अभिभावकले विद्यालयमा आएर आफ्ना नानीबाबुका समस्याका बारेमा जानकारी लिन आवश्यक रहेको बताए । प्रिन्सिपल मान बहादुर ऐरले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

विद्यालयले उक्त कार्यक्रममा पीजी देखि कक्षा १२ सम्मका विद्यार्थीका अभिभावकहरलाई सहभागिता गराएका थिए । विद्यालयले विद्यार्थीहरूको शैक्षिक लगायत अतिरिक्त क्रियाकापहरूमा क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरुको शिक्षा, खेलकुद लगायत विभिन्न अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.