अत्तरियाको सत्यवती एकेडेमीको १४ वार्षिकोत्सव चार चरणमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमीले आफ्नो १४ औँ वार्षिकोत्सवलाई चार चरणमा आयोजना गर्ने भएको छ । पहिलो चरणका कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

विद्यालयले पहिलो चरणअन्तर्गत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागितामा भव्य कार्यक्रम सम्पन्न गरेको हो। सीमित विद्यार्थी समेटेर आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीलाई खुला वातावरणमा आत्मविश्वासपूर्वक आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ । विद्यालयका सञ्चालक वीरबहादुर कडायतका अनुसार, सबै विद्यार्थीले आफ्नो क्षमता देखाउन पाउन भन्ने उद्देश्यले चार चरणमा वार्षिकोत्सव आयोजना गरिएको हो। “एकै दिन सबै कक्षाको कार्यक्रम गर्दा धेरै विद्यार्थी अवसरबाट वञ्चित हुन्छन्, त्यसैले चरणबद्ध कार्यक्रम प्रभावकारी हुन्छ,” उनले भने।

पहिलो चरणको कार्यक्रममा करिब ५५२ विद्यार्थी सक्रिय रूपमा सहभागी भए। शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप ८४४ वटा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। यसले विद्यालयले केवल किताबी ज्ञानमा होइन, सर्वाङ्गीण विकासमा समेत उच्च प्राथमिकता दिएको स्पष्ट पार्छ। कार्यक्रममा १३ वटा आकर्षक नृत्य, ५ वटा गीत प्रस्तुत गरिनुका साथै विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो। विद्यालयका उत्कृष्ट पूर्व विद्यार्थीलाई समेत सम्मान गरिनुले सत्यवतीको निरन्तर सफल शैक्षिक यात्रालाई झल्काएको छ।

विद्यालयले दोस्रो चरणको वार्षिकोत्सव यही माघ ४ गते कक्षा ५ देखि ७ सम्मका विद्यार्थीको सहभागितामा आयोजना गर्ने जनाएको छ। त्यसपछि तेस्रो र चौथो चरणमा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई समेट्दै फागुन महिनामा कार्यक्रम सम्पन्न गर्ने योजना रहेको छ। यसरी उमेर र कक्षाअनुसार कार्यक्रम विभाजन गर्दा साना विद्यार्थीसमेत सहज, सुरक्षित र उत्साहपूर्ण रूपमा सहभागी हुन सक्ने विश्वास विद्यालयको छ।

सत्यवती एकेडेमीले अपनाएको यो चरणबद्ध वार्षिकोत्सव मोडेल स्थानीय विद्यालयहरूका लागि नयाँ र प्रेरणादायी अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। यस अभ्यासले विद्यालयमा रहेका अधिकतम विद्यार्थीलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसर दिनुका साथै शिक्षामा प्रतिस्पर्धा, आत्मविश्वास र सिर्जनशीलताको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
नर्सरीदेखि कक्षा १२ सम्म करिब २ हजार १०० विद्यार्थी अध्ययनरतसबै विद्यार्थीलाई समान अवसर दिन चरणबद्ध रूपमा वार्षिकोत्सव आयोजना गर्नुपरेको विद्यालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.