कैलालीको गोदावरी धाम धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो । माघे संक्रान्ति, शिवरात्रि, तीजजस्ता पर्वमा यहाँ लाग्ने अत्याधिक भिडले यसको महत्व झनै उजागर गर्छ । तर, दुःखको कुरा, यति ठूलो सम्भावना बोकेको गोदावरी धाम आजसम्म पनि व्यवस्थित बन्न सकेको छैन । श्रद्धालुहरूको आस्था र विश्वासमाथि व्यवस्थापनको कमजोरीले बारम्बार प्रश्न उठाइरहेको छ ।
गोदावरी धाम क्षेत्रमा निर्माण गरिएका धेरै पूर्वाधारहरू कुनै गहिरो अध्ययन, वातावरणीय मूल्यांकन र दीर्घकालीन योजनाबिनै बनाइएका देखिन्छन् । वर्षायाममा आउने बाढीले ती संरचना बगाउने जोखिम सधैं रहन्छ । यसले राज्यको लगानी, स्थानीयको श्रम र श्रद्धालुको सुविधामाथि गम्भीर प्रश्न खडा गरेको छ । दिगोपनाको सुनिश्चितता नगरी गरिएको विकासले समस्या समाधानभन्दा बढी संकट निम्त्याउने खतरा बढ्दै गएको छ ।
धाममा विभिन्न नामका समिति गठन गरिएका छन् । ती समितिहरूले पर्व तथा अन्य अवसरमा चन्दा संकलन गर्ने गरे पनि त्यसको पारदर्शी र प्रभावकारी सदुपयोग हुन सकेको छैन । चन्दाको रकम कहाँ, कसरी र किन खर्च भयो भन्ने विषयमा स्पष्ट जानकारी नहुँदा श्रद्धालु र स्थानीयवासीमा असन्तोष बढ्दै गएको छ ।
धार्मिक स्थलमा पारदर्शिता र जवाफदेहिता नहुनु आफैंमा चिन्ताको विषय हो । गोदावरी धाममा सञ्चालनमा रहेको गुरुकुल पनि उपेक्षित अवस्थामा देखिन्छ । धार्मिक शिक्षाको संरक्षण र प्रवद्र्धनका लागि खोलिएको गुरुकुलको उचित रेखदेख, व्यवस्थापन र विकास हुन नसक्नु दुःखद हो । यसले धार्मिक संस्कार र ज्ञान हस्तान्तरणको अवसरलाई कमजोर बनाइरहेको छ ।
माघे संक्रान्तिका अवसरमा नेपाली सेनाले अस्थायी रूपमा केही व्यवस्थापन गर्दा मात्र श्रद्धालुले सहज रूपमा स्नान गर्न पाउने अवस्था बन्ने गरेको छ । यसले नियमित, स्थायी र जिम्मेवार व्यवस्थापन संरचनाको अभावलाई स्पष्ट देखाउँछ । वर्षमा एक–दुई दिनको अस्थायी व्यवस्थापनले दीर्घकालीन समस्या समाधान हुँदैन ।
अब गोदावरी धामलाई भावनाको मात्र केन्द्र होइन, योजनाबद्ध, सुरक्षित र दिगो धार्मिक स्थलका रूपमा विकास गर्न ढिलाइ गर्नु हुँदैन । यसका लागि राज्य, स्थानीय तह, सम्बन्धित समिति र सरोकारवाला सबैबीच स्पष्ट भूमिका बाँडफाँड, पारदर्शी आर्थिक व्यवस्थापन र वैज्ञानिक अध्ययनमा आधारित पूर्वाधार विकास अनिवार्य छ । श्रद्धाको सम्मान व्यवस्थाबाट हुन्छ । गोदावरी धामको संरक्षण र विकास अब विकल्प होइन, अपरिहार्य आवश्यकता बनिसकेको छ ।