अत्तरिया : नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस भएको छ ।
यसमा यसअघिका प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर सहित अन्य ६ जना नेता समेटिएका छन् । ती ६ जनामध्ये युवा प्रतिनिधिका रूपमा भुवन महराको नाम चर्चामा मात्र होइन, बलियो दाबेदारका रूपमा स्थापित हुँदै गएको छ ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लगातार दुई कार्यकाल स्ववियु सभापति रहिसकेका महरा युवाहरूको भरोसा र विश्वास जित्न सफल नेता मानिन्छन् । दुई पटकको स्ववियु सभापतित्व केवल पद होइन, संगठन क्षमता, नेतृत्व कौशल र संघर्षबाट खारिएको अनुभवको प्रमाण बनेको छ । विशेषगरी जेन्जी आन्दोलनले उठाउँदै आएको नेतृत्व परिवर्तन, जवाफदेही राजनीति र स्थानीय मुद्दामा केन्द्रित विकासको मागसँग महराको राजनीतिक यात्राले प्रत्यक्ष संगति राख्छ ।
कैलाली क्षेत्र नं. ४ मै हुर्किएका महरा सो क्षेत्रको सामाजिक, शैक्षिक र राजनीतिक यथार्थका गहिरा जानकार हुन् । क्षेत्रका समस्या, सम्भावना र आवश्यकता बुझ्ने नेताका रूपमा उनी “निकास सहितको विकास” को स्पष्ट खाकासहित अघि बढ्ने पात्रका रूपमा हेरिएका छन् । सडक, शिक्षा, रोजगारी र युवालाई केन्द्रमा राखिएको विकास दृष्टिकोणले उनलाई फरक बनाएको समर्थकहरूको भनाइ छ ।
२०७९ सालको स्ववियु निर्वाचनमा महराले भोगेको संघर्षले उनको राजनीतिक दृढता झनै मजबुत बनाएको देखिन्छ । पहिलो पटक टिकट पाउनै कठिन परिस्थितिबाट सुरु भएको यात्रा, बागी उम्मेदवारको चुनौती चिर्दै ३७४ मतसहितको जित, र दोस्रो कार्यकालमा पाँच विद्यार्थी संगठनको संयुक्त मोर्चालाई पराजित गर्दै ४४१ मतसहितको स्पष्ट विजय–यी सबै उपलब्धिले उनको जनआधार र नेतृत्व क्षमता पुष्टि गर्छन् ।
युवामाझ बढ्दो समर्थन, संगठनमा देखिएको विश्वास र स्थानीय मतदातासँगको निकटताले भुवन महरालाई केवल “युवा उम्मेदवार” होइन, “जित्ने सम्भावना बोकेको विकल्प” का रूपमा उभ्याएको छ । पहिलो स्ववियु कार्यकाल सफलतापूर्वक पूरा गरी दोस्रो कार्यकाल सम्हालिरहेका महरा अब प्रतिनिधि सभा निर्वाचनमा होमिन अग्रसर देखिन्छन् । कैलाली–४ मा नयाँ ऊर्जा, नयाँ सोच र स्थानीय माटोको आवाज बोकेको नेतृत्व खोजिरहेका मतदाताका लागि भुवन महरा आशाको नाम बन्दै गएका छन् ।