डडेल्धुरा निर्वाचन कार्यालय परिसरमा देउवा पक्षको प्रदर्शन

डडेल्धुरा : कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा निर्वाचन कार्यालय अगाडि प्रदर्शन भएको छ ।

आइतबार दिउँसो निर्वाचन आयोगको निर्णय मान्दैनौं भन्दै कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले जिल्ला निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिका –५ तुफानडाँडामा रहेको कांग्रेसको पार्टी कार्यालयबाट नारा लगाउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाराबाजी गरेको नेपाली कांग्रेस क्षेत्र (ख) का सभापति खडक बोहराले जानकारी दिए ।

उनका अनुसार नेपाली काँग्रेस निकट संगठनहरुले जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा घेराउ गरेको थियो । निर्वाचन आयोगले पार्टी सभापति शेरबहादुर देउवालाई आधिकारिकता नदिएको कारण काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा आइतबार निर्वाचन कार्यालय घेराउ गरिएको तरुण दलका जिल्ला सभापति करन बोहराले बताए।

माग सम्वोधन नभए मंगलबारदेखि कडा आन्दोलनमा जाने कार्यक्रम रहेको उनले बताए । आइतबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालय घेराउ गरिएको छ ।

नेपाल विद्यार्थी संघ शिक्षा क्याम्पस इकाई प्रमुख दुर्गा भट्टले आयोगले गरेको निर्णय स्वीकार्य नहुने बताउँदै देउवाले बैधानिकता नपाएसम्म आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिए । काँग्रेस महाधिवेशन प्रतिनिधि जगत ऐरले बिदेशीको चलखेलमा थालिएको यो कदम मान्य नहुने भन्दै डडेल्धुराबाट चुनाव जित्दै आएका सभापति देउवा र काँग्रेसप्रति अन्याय भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.