अत्तरिया । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न आधा दर्जनभन्दा बढी तहको प्रक्रिया पूरा गर्नुपर्नेछ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने दिन आज हो ।
उम्मेदवार बन्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटोसहितको मतदाता परिचयपत्र हुनु सामान्य प्रक्रिया हो । यसपटक आयोगले ’अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा’ पनि अनिवार्य गरेको छ । यो निस्सा बिना मनोनयन दर्ता नहुने निर्वाचन अयोगले जनाएको छ ।
उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकको हकमा पनि नियमहरू छन् । प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र वा मतदाता नामावलीमा नाम रहेको निस्सा अनिवार्य बुझाउनुपर्नेछ । प्रस्तावक वा समर्थकको नाम सम्बन्धित निर्वाचन क्षेत्रको नामावलीमा भेटिएन भने उम्मेदवारी स्वतः बदर हुनेछ ।
राजनीतिक दलका उम्मेदवारका लागि सम्बन्धित दलको आधिकारिक हस्ताक्षर सहितको औपचारिक पत्र चाहिन्छ । स्वतन्त्र उम्मेदवारका लागि भने व्यक्तिगत विवरण र ’स्वघोषणा’ पत्रलाई मात्रै अनिवार्य गरिएको छ । उम्मेदवारले आफू कुनै पनि लाभको पदमा नरहेको र फौजदारी अभियोग नलागेको स्वघोषणा पर्छ ।
पछिल्लो समय पारदर्शिताको प्रश्न उठ्न थालेपछि आयोगले सम्पत्ति विवरणमा पनि कडाइ गरेको छ । उम्मेदवारले मनोनयन दर्ताकै बखत आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ ।
प्रतिनिधि सभाका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ । यो रकम बैंकमा जम्मा गरेको भौचर वा निर्वाचन अधिकृतको कार्यालयमा नगद बुझाएको रसिद अनिवार्य गरिएको छ । बैंकको लामो लाइन र प्रक्रियाले गर्दा अन्तिम समयमा उम्मेदवारी दर्ता गर्नेहरूलाई भौचर व्यवस्थापन गर्न सकस हुन सक्छ तर यो अनिवार्य हो ।