अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भवनमा आयोजित विशेष स्वागत कार्यक्रममा विश्वविद्यालयका नवउपकुलपति प्रा.डा. सुनिल कुमार जोशी र रजिष्ट्रार डा. खेमराज जोशीलाई स्वागत गरिएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गेटा अस्पतालका प्रमुख डा. प्रमोद यादवको नेतृत्वमा स्वागत गरिएको थियो।
कार्यक्रममा विश्वविद्यालयका सिनेट सदस्य डा. डम्मर बहादुर पाल, डा. हेमराज पुजारा, प्राध्यापक हरिकृष्ण कडायत लगायतको उपस्थितिमा विश्वविद्यालय सञ्चालन, शैक्षिक गतिविधि र संरचनागत विकासका विषयमा विस्तृत छलफल भएको थियो। सेती र महाकाली अस्पताललाई मातहत ल्याई सेवा विस्तार, आगामी वर्षदेखि शैक्षिक सत्र सञ्चालन, दक्ष जनशक्ति उत्पादन र अस्पताल सञ्चालन योजनाहरू चर्चाको मुख्य विषय बने।
उपकुलपति जोशीले आँखासम्बन्धी उपचारका लागि गेटा आँखा अस्पतालसँग एमयू, क्यान्सर विशेषज्ञ नर्स र स्क्रिनिङ सेवाका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग समन्वय, थेरापी, कार्डियोलोजी सेवा विस्तार, क्याथल्याब सञ्चालन र पाँचवटा प्यारामेडिकल कार्यक्रम सुरु गर्ने योजना प्रस्तुत गरे।
छलफलमा विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने, कर्मचारी क्षमताको पूर्ण प्रयोग गर्ने र ३०० शैयाको अस्पतालसहित शैक्षिक कार्यक्रम २०८३ सालभित्र सुरु गर्ने प्रतिबद्धता जनाएको छ।