धनगढी : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनाका कारण सुदूरपश्चिम प्रदेशमा १०१ जनाले ज्यान गुमाएका छन्। साउनदेखि पुस मसान्तसम्म प्रदेशभर ६७४ वटा सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार उक्त अवधिमा भएका दुर्घटनामा १०१ जनाको मृत्यु भएको छ भने ६६० जना गम्भीर घाइते र ५२८ जना सामान्य घाइते भएका छन्।
कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी टेक बहादुर जोराका अनुसार सवारी नियम उल्लङ्घन गर्नेहरूविरुद्ध प्रहरीले कडाइ गरेको छ। साउनदेखि पुससम्म १९ हजार ५६३ वटा सवारी साधनमाथि कारबाही गरिएको छ, जसबाट १ करोड ५२ लाख ७७ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) कसुरमा ४०४ जनामाथि कारबाही हुँदा ४ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यार्थी, चालक तथा सडक प्रयोगकर्तालाई लक्षित गर्दै २७५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा ५४ हजार २८० जना लाभान्वित भएका छन्। यस्तै, प्रदेशभर दुर्घटना बढी हुने स्थानको पहिचान गर्दै ४७ वटा ‘ब्ल्याक स्पट’ निर्धारण गरिएको छ। ती स्थानमा दुर्घटना न्यूनीकरणका लागि ४७ वटा सूचना बोर्डसमेत राखिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सवारी दुर्घटना नियन्त्रण, नियमको प्रभावकारी कार्यान्वयन तथा जनचेतना अभिवृद्धिमार्फत सडक सुरक्षालाई थप प्रभावकारी बनाउने कार्य निरन्तर जारी राख्ने जनाएको छ।