कञ्चनपुर, ९ माघ : हमासको आक्रमणमा परेर गाजा क्षेत्रमा मारिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको सम्झनामा चोकको नामकरण गरिएको छ ।
महेन्द्रनगरस्थित ब्रह्मदेव लिंक रोडको चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको हो । महेन्द्र राजमार्गअन्तर्गत ब्रम्ह्देव लिंक रोड छुट्टिने चोक विपिन चोक नामकरण गरिएको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले बताए ।
भीमदत्त नगर कार्यपालिकाले उक्त क्षेत्रलाई विपिन चोक नामकरण गर्ने निर्णय गरेको थियो । नगरपालिका र वडा कार्यालयले शुक्रबार विपिन चोक घोषणा गरि उक्त क्षेत्रमा विपिनको नाम समेत लेखेको छ ।
नेपाली विद्यार्थी विपिनले इजरायलमा बहादुरी देखाएर आफू मरेपनि साथीलाई जोगाउन गरेको योगदान सम्झना राखिराख्न चोकको नाम राखिएको वडाध्यक्ष धामीले बताए । भविष्यमा यही चोकमा विपिनका शालिक बनाउने योजना रहेको उनले बताए ।
भीमदत्त नगर कार्यपालिकाले विपिनलाई शहिद घोषणाका लागि निर्णय गरेर जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस गरेको उनले बताए ।
दुई वर्षअघि लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी विपिन जोशीको हमासको नियन्त्रणमा रहेका बेला मृत्यु भएको थियो । इजरायल र हमासबीच युद्धबिराम पछि कात्तिक ३ गते विपिनको शव घर ल्याइएको थियो ।
विपिन चोक घोषणा गर्दा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर लगायतको उपस्थिति रहेको थियो ।