तेस्रो टीकापुर साहित्य महोत्सव चैत १३ देखि

अत्तरिया : टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण यही चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । टीकापुर साहित्य समाजले शनिबार गरेको पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र समयतालिका सार्वजनिक गरेको हो ।
सम्मेलनद्वारा जारी गरिएको विज्ञप्तिअनुसार महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुनेछ । जम्मा २१ बहस सत्रहरू रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन् । हरेक बहस सत्र ११ घण्टाको हुने छ ।

महोत्सव भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ ।
नेपालमा विशेषगरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारू समुदायको बाहुल्य छ । ‘थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्य लिएको टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए ।
‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन्,’ संयोजक शाहको भनाइ छ ।

यसबाहेक महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकासलगायत विधाका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल हुने छन् । महोत्सवको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव रहने छ ।
कविता महोत्सवमा प्रथम हुने कवितालाई १५०००, द्वितीयलाई १०००० र तृतीयलाई ५००० रूपियाँ नगद पुरस्कार र प्रमाणपत्र अर्पण गरिने छ । सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने छ । महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ ।

अतिथि आगमनको दिन सहभागीहरूलाई महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’ लाई सार्थकता दिन र टीकापुर भेकको पर्यटन प्रवर्धन गर्न कर्णाली नदीमा जलविहार गराइने छ ।
त्यहीँ साँझ थारू संस्कृतिको प्रवद्र्धन हेतु ‘थारू सांस्कृतिक साँझ’ आयोजन गरिने छ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत हुने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.