बैतडी । बैतडीमा ईभीको गाडी (हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ ज ०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा बडिया सडकखण्डक घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।
गाडीमा चालक दोगडाकेदार ५ का मदन ठगुन्ना मात्रै रहेको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
हाइस सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बिहिबार मात्र जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।