सेभ हाउसमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

अत्तरिया : गोदावरी नगरपालिका वडा नं. २, अत्तरियामा रहेको श्री महिला तथा बालबालिका सेभ हाउस अत्तरियाको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
आश्रित बालबालिकाहरूको दीर्घकालीन संरक्षण र भविष्य सुनिश्चित गर्ने उद्देश्यले अक्षय कोष निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो । माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा धार्मिक प्रवचन, कथा वाचन तथा विविध आध्यात्मिक कार्यक्रमहरू समावेश छन् ।
उद्घाटन समारोहमा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सेभ हाउसले समाजमा उदाहरणीय भूमिका खेलेको उल्लेख गरे । उनले भने, “सरकारले गर्नुपर्ने दायित्वसमेत सेभ हाउसकी संचालिका जानकी मलासीले निःस्वार्थ रूपमा पूरा गर्दै आउनु भएको छ । नगरपालिकाले आधारभूत आवश्यकताका लागि प्रत्येक वर्ष ४ लाख रुपैयाँ सहयोग गर्दै आएको छ, तर यसमा सबैको साझा सहयोग आवश्यक छ ।”
नगर प्रमुख भट्टले सबै श्रद्धालु, समाजसेवी र दाताहरूलाई महायज्ञमा सहभागी भई आध्यात्मिक लाभ लिनुका साथै सहयोग गर्न आग्रह गरे । आयोजक संस्थाले महायज्ञबाट संकलित रकम बालबालिकाको शिक्षा, स्वास्थ्य र पालनपोषणमा खर्च गरिने जानकारी दिएको छ ।
फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत सेभ हाउसमा आश्रित बालबालिकाको पालन–पोषणका लागि अक्षय कोष स्थापना गरिने सेभ हाउसका संरक्षक डा. नरबहादुर मौनीले जानकारी दिए । महायज्ञमा चर्चित कथा वाचिका सुमि मानवसहितको समूहले कथा प्रवचन गर्नेछ भने मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन् ।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.