धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका साउँदले पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङको नेतृत्वमा आफू जनताको मुद्दा लिएर मैदानमा उत्रिएको बताए । उनले सुदूरपश्चिममा दशकौंदेखि जटिल सामाजिक–आर्थिक समस्याका रूपमा रहेका मुद्दाहरू समाधान गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने बताए । विशेष गरी कमैया प्रथा प्रभावित परिवार, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनस्र्थापना, बेरोजगार युवाको रोजगारी र सुशासन स्थापनालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
साउँदले कैलाली र कञ्चनपुरका ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका हजारौं परिवारको समस्या दीर्घकालीन नीति निर्माणमार्फत समाधान गर्ने प्रतिबद्धता जनाए । उनले विगतदेखि नै कमैया प्रथाको अवशेष अन्त्य तथा पुनस्र्थापनाका लागि पहल गर्दै आएको दाबी गरेका छन् । “भूमिहीन नागरिकलाई अधिकारसहितको बसोबास दिलाउनु राज्यको दायित्व हो,” उनले भने । उम्मेदवार साउदले आफू उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकोले कालोबजारी, भ्रष्टाचार र माफियाविरुद्धको अभियानलाई सदन र सडक दुवैबाट सशक्त बनाउने बताए । सबै नागरिकले स्वस्थ खानेकुरा, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको संवैधानिक अधिकार उपभोग गर्न पाउनुपर्ने उनको जोड छ । उनले स्वच्छ प्रतिस्पर्धा र सुशासनयुक्त समाज निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राखेको बताएका छन् ।
साउँदले धनगढी विमानस्थललाई स्तरोन्नति गरी राष्ट्रिय हबका रूपमा विकास गर्न पहल गन, हवाई भाडादरको असमानता घटाउन सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यस्तै, शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रकै गौरवको ऐतिहासिक विश्वविद्यालयका रूपमा स्थापित गर्न पहल गर्ने तथा सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गराउने उनले बताएका छन् ।
उच्च अदालत धनगढीमै कायम राखी डोटीमा उच्च अदालतको इकाई स्थापना गर्न आफूले पहल गर्ने पनि उनले उल्लेख गरेका छन् । पूर्वाधार विकास अन्तर्गत सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बजेट विनियोजन गराउन सम्बन्धित निकायमा पहल गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
साउदको प्रतिबद्धता–पत्रमा युवालाई प्राथमिकता दिइएको छ । उनले पाँच वर्षभित्र कृषि, सूचना प्रविधि, वन, जलस्रोत, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १२ हजार बेरोजगार युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेका छन् । सुदूरपश्चिममा स्मार्ट आईटी व्यवसायको प्रवद्र्धन गरी सामाजिक सञ्जाल र इन्टरनेटलाई आयआर्जनको माध्यम बनाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।
प्रदेशस्तरीय सीप तथा रोजगार भवन स्थापना गरी युवालाई तालिम र रोजगारीसँग जोड्ने योजना पनि उनले अघि सारेका छन् । साथै, राष्ट्रिय स्तरको औषधि उद्योग स्थापना गरी रोजगारी सृजना र औषधिमा आत्मनिर्भरता बढाउने उनको लक्ष्य छ ।
साउदले साना व्यवसाय प्रवद्र्धनका लागि ५० लाख रुपैयाँभन्दा कम लगानीका व्यवसायलाई ५० प्रतिशत सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई दबाब दिने बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई जनतासँग प्रत्यक्ष जोड्ने नीतिगत सुधार आवश्यक रहेको उनको धारणा छ । सहकारी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठनको पहल गर्ने र पीडितको रकम फिर्ता गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्। सहकारी संस्थाको क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
प्रतिबद्धता–पत्रमा सनातन हिन्दु धर्मसम्बन्धी प्रदेशस्तरीय पुस्तकालय स्थापना गर्ने उल्लेख छ । सांस्कृतिक पहिचान र धार्मिक अध्ययन–अनुसन्धानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो पहल आवश्यक रहेको उनले बताएका छन् ।