कैलाली–५ मा कांग्रेसको संगठित अभियान, उम्मेदवार मनुलाई जिताउन घरदैलोदेखि मतदाता शिक्षासम्म सक्रियता बढाउने आह्वान
धनगढी : नेपाली काँग्रेसका सुदूरपश्चिम महामन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले चुनावी अभियानलाई अझ व्यवस्थित, परिणाममुखी र जनकेन्द्रित बनाउन नेता–कार्यकर्तालाई स्पष्ट निर्देशन दिएका छन्। उनले घरदैलो अभियानलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै दैनिक उपस्थिति रजिस्टर राख्न र टोलस्तरमा मतदातालाई एकताबद्ध गर्न सक्रिय हुन आग्रह गरे।
कैलाली–५ का विभिन्न टोल तथा वडामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार शाहले भने, “मान्छे क्रियाशील भएरनभएको बारे जानकारी राख्न घरदैलो अभियानको दैनिक उपस्थिति रजिस्टरमा राख्नुहोस्। यसले हाम्रो संगठन कति चलायमान छ भन्ने स्पष्ट देखिन्छ।” उनले संगठनको शक्ति नै जितको आधार हुने भन्दै अनुशासित र अभिलेखीकरणसहितको अभियान सञ्चालन गर्न जोड दिए।
उम्मेदवार शाहले टोलस्तरमा तय गरिएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय पार्टी कमिटीहरूलाई जिम्मेवार बन्न आग्रह गरे। “टोलस्तरमा तोकिएको दिनको कार्यक्रममा सहभागी सबै मतदातालाई एकतावद्ध गर्न त्यहीँका पार्टीका साथीहरू सक्रिय रूपमा लाग्नुपर्छ,” उनले भने, “स्थानको पहिचान गरी सचिवालयलाई र उम्मेदवारलाई जानकारी दिनुहोस्, ताकि समन्वय प्रभावकारी होस्।”
उनले अहिलेको चुनावी परिवेशमा मतदाताहरू भाषणभन्दा उम्मेदवारलाई प्रत्यक्ष चिन्न र बुझ्न चाहिरहेको उल्लेख गरे। “अहिले भाषणभन्दा उम्मेदवार को हो भनेर चिन्न चाहन्छन्,” उनले स्पष्ट पारे, “त्यसैले मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुहोस्।”
शाहले मतदाता शिक्षालाई चुनावी अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि सारे। उनले वडा कार्यसमितिलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै भने, “मतदाता शिक्षामा वडा कार्य समिति सक्रिय भएर लागौँ। मतदातालाई सही ढंगले मतदान गर्ने तरिका, हाम्रो एजेन्डा र उम्मेदवारको प्रतिबद्धता स्पष्ट रूपमा बुझाउनुपर्छ।”
उनले मतदाता शिक्षालाई केवल औपचारिक कार्यक्रम नभई विश्वास निर्माण गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए। उनका अनुसार, मतदाता सचेत भए मात्र परिणाम पनि सुदृढ हुन्छ। ‘उम्मेदवार घरमा आएन’ भन्ने गुनासो नआओस्
उम्मेदवार शाहले आफूलाई हरेक टोल–बस्तीमा पु¥याउने जिम्मेवारी पनि कार्यकर्तामाथि रहेको बताए। “उम्मेदवार हाम्रो घरमा आएन भनेर कसैले गुनासो गर्ने मौका नदिनुहोस्,” उनले आग्रह गरे।
आफ्नो स्वास्थ्य अवस्था उल्लेख गर्दै उनले भने, “शारीरिक अवस्था कमजोर भएकाले धेरै दौडधुप गर्न सकिँदैन। जति तपाईंहरूले मलाई दौडाउनु हुन्छ, त्यति म दौडिन्छु। जहाँ, जति खेर बोलाउनु हुन्छ, म सहभागी हुन्छु।”
उनको यो भनाइले कार्यकर्तामा थप उत्साह पैदा गरेको सहभागीहरूले बताएका छन्। उम्मेदवार स्वयं प्रतिबद्ध र उपलब्ध हुने सन्देशले स्थानीय तहमा सकारात्मक सन्देश गएको छ।
शाहले व्यक्तिगत जित–हारको चिन्ताभन्दा पार्टीको संगठित अभियानलाई प्राथमिकता दिन आग्रह गरे। “मेरो नतिजासँग चिन्ता लिनुभन्दा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गरौँ,” उनले भने।
उनले चुनावी प्रचारलाई योजनाबद्ध ढंगले अघि बढाउन, जिम्मेवारी बाँडफाँट स्पष्ट गर्न र नियमित समीक्षा गर्न सुझाव दिए। “हामीले आफ्नो काम ठीक ढंगले गर्यौँ भने नतिजा आफैं अनुकूल आउँछ,” उनले विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै शाहले कैलाली–५ को समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रमा दीर्घकालीन योजना ल्याउने प्रतिवद्धता दोहोर्याए। “हामी केवल चुनाव जित्न होइन, क्षेत्रको विकासका लागि उम्मेदवारी दिएका हौँ,” उनले भने, “जनताको विश्वासलाई विकास र समृद्धिमा परिणत गर्ने हाम्रो लक्ष्य हो।”
कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले उम्मेदवार शाहको निर्देशनलाई सकारात्मक रूपमा लिँदै घरदैलो अभियानलाई थप तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्। टोलस्तरमा नियमित बैठक, मतदाता सूची अद्यावधिक, युवा तथा महिला परिचालनजस्ता कार्यक्रमहरूलाई तीव्रता दिने निर्णय गरिएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसले संगठित र योजनाबद्ध अभियान चलाइरहेको दाबी गर्दै स्थानीय नेताहरूले यसपटकको निर्वाचनमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।
उम्मेदवार मनुको स्पष्ट निर्देशन, कार्यकर्ताको सक्रियता र मतदातासँगको प्रत्यक्ष संवादले चुनावी माहोल तातेको छ। संगठित संरचना, मतदाता शिक्षामा जोड र घरदैलो अभियानको प्रभावकारी व्यवस्थापनले कैलाली–५ मा कांग्रेसको जितको आधार बलियो बन्दै गएको देखिन्छ।