रास्वपाका उम्मेदवार खेमराज कोइरालाको चुनावी वाचा–पत्र सार्वजनिक

अत्तरिया  : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–४ बाट रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइरालाले आफ्नो विशेष चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन् ।

उनले सुदूरपश्चिम विकाश मोडेल तयार गर्ने सहितका विभिन्न एजेन्डाहरु सहितको बाचापत्र बुधवार सार्वजनिक गरेका हुन । उनले वाचा–पत्रमा संविधानको पूर्ण कार्यान्वयन, सुशासन, पारदर्शिता र जनताको जीवनस्तर सुधारलाई मुख्य एजेन्डा बनाउँदै परिणाममुखी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वाचा–पत्रमा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन, सरकारी निकायमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने तथा नागरिकको मौलिक अधिकारको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । साथै, संघीय संरचना मजबुत बनाउन प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने, निर्णय प्रक्रियामा नागरिक सहभागिता वृद्धि गर्ने र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने कुरामा उनले जोड दिएका छन ।

वाचा–पत्रमा उनले सार्वजनिक सेवा प्रवाह सुधारअन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्ने योजना अघि सारेका छन । त्यसबाहेक कृषि, विज्ञान, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रमा दीगो र समावेशी विकासलाई प्राथमिकता दिने उनको वाचा–पत्रमा उल्लेख गरिएको छ । कृषिमा आधुनिक प्रविधि र सीप विकास कार्यक्रम सञ्चालन गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न स्टार्टअप र साना–मझौला उद्योग प्रवद्र्धन गर्ने लगायतका एजेण्डाहरु बाचापत्रमा राखिएको छ ।

त्यसबाहेक सुशासनतर्फ “जनताको कर जनताकै हितमा” भन्ने नारासहित वडा र पालिकास्तरका योजना, खर्च र परिणाम सार्वजनिक गर्ने प्रणाली विकास गरिने, सांसद सम्पर्क कार्यालय स्थापना गरी जनतासँग प्रत्यक्ष संवाद गरिने, नियमित समीक्षा तथा ‘जनताको आवाज–सांसदको काम’ कार्यक्रम सञ्चालन गरिने वाचा–पत्रमा भनिएको छ । कोइरालाले खेलकुद र युवा क्षेत्रमा गोदावरी, गौरीगंगा, चुरे र मोहन्याल क्षेत्रमा खेल पूर्वाधार विस्तार, रंगशाला निर्माण र खेल प्रतिभाको संरक्षण गर्ने योजना वाचा–पत्रमा समावेश गरेका छन । उनले चुरे संरक्षण, नदी व्यवस्थापन, हरित करिडोर, बाढी पूर्वसूचना प्रणाली विस्तार, फोहर व्यवस्थापन र नवीकरणीय ऊर्जामा लगानी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासका लागि कोइरालाको बाचापत्रमा गोदावरी–गौरीगंगा क्षेत्रलाई ‘स्पिरिचुअल एन्ड कल्चरल करिडोर’ को रूपमा विकास गर्ने, धार्मिक स्थल संरक्षण र प्रचार–प्रसार गर्ने, तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । त्यस्तै सामाजिक न्यायअन्तर्गत दलित, महिला, जनजाति, सिमान्तकृत समुदाय तथा जेष्ठ नागरिकका अधिकार सुनिश्चित गर्ने, समावेशी नीति कार्यान्वयन गर्ने र असहाय बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र आवासको पहल गरिने उल्लेख छ ।
उम्मेदवार कोइरालाले यो निर्वाचन केवल प्रतिनिधि चयन मात्र नभई सुशासन स्थापना, भ्रष्टाचार अन्त्य र दीगो विकासको आधार निर्माण गर्ने अवसर भएको बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.