अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा अवस्थित गोदावरी पब्लिक स्कूलले आफ्नो तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । छोटो समयमै शैक्षिक तथा खेलकुद क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको विद्यालयले वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको हो । कार्यक्रममा अध्ययनरत विद्यार्थी आयुषा विष्ट र आशिष भट्टले आकर्षक रूपमा सञ्चालन गरेका थिए ।
विद्यालय प्रशासनका अनुसार सिक्ने र सिकाउने थलोका रूपमा स्थापित हुँदै गएको विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विभिन्न अवसर प्रदान गर्दै आएको जनाएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको रोबोटमार्फत राष्ट्रिय झण्डा प्रदर्शन गरी झण्डा फहराएर अतिथिहरूलाई स्वागत गरिएको थियो । साथै विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत तथा प्रेरणादायी मन्तव्यहरूले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।
कार्यक्रममा शैक्षिक, खेलकुद तथा अन्य विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष मनीराज नौन्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका का नगर प्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि तथा नगर उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । समारोहमा विभिन्न विद्यालयका प्रिन्सिपल, समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।