दार्चुला अपि हिमाल-३ को दुधिला मावि केन्द्रमा मत हाल्नै कोही आएनन्

दार्चुला । दार्चुलाको दुधिला मावि अपि हिमाल(३ को मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु नभएको हो ।

यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।

नागुबासीलाई बुधबार पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल पुगेर छलफल गरे पनि उनीहरू मत नहाल्नेमा अडिग रहे ।

नागु विकास संघर्ष समितिसँग छलफल गर्न धनगढीबाट नेपाली सेनाको हेलिकप्टर चढेर अर्याल बुधबार दिउँसो नागु पुगेका थिए ।

माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको संघर्ष समितिका संयोजक करनसिह डडालले जानकारी दिए ।

निर्वाचन गराउन नागु पुगेको मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीयको सहभागितामा निर्वाचनको तयारी थालिएको थियो ।

नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् । यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका छन् । ०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेको स्थानीय कमलसिंह रोकायाले जानकारी दिए ।

वडा विभाजनको मागसहित नो भोट अभियानमा उत्रिएका अपिहिमाल गाउँपालिका वडा नम्बर ३ अन्तर्गत दुधिला आधारभूत विद्यालयमा मतदान गर्ने मतदाताको पुन मतदान अधिकृत लगायतको उपस्थितिमा भएको बैठकमा समेत मतदान नगर्ने निर्णय गरिएको उनले बताए ।

यो मतदान केन्द्रअन्तर्गत झुस्कु, चौड, छविस, भट्टार गाउँका मतदाताले भोट नहाल्ने निर्णय दोहोर्‍याएका हुन् । यो मतदान केन्द्रमा ३४६ जना मतदाता रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.