धनगढी : कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई पाँच लाख रुपियाँ घुस मागेको आरोप लगाएपछि सो विषयमा छानबिन गर्न माग गरिएको छ।
भट्टले सार्वजनिक रूपमा मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले उक्त विषयको निष्पक्ष छानबिन गर्न माग गरेको हो।
बिहीबार संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्टले कर्मचारीले लगाएको गम्भीर आरोपलाई सम्बन्धित न्यायिक निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने बताए । उनले मुख्यमन्त्रीमाथि यस्तो गम्भीर आरोप लाग्दा पनि स्वयं मुख्यमन्त्रीले आवश्यक पहल नगरेको भन्दै प्रश्न उठाए ।
वरिष्ठ डिभिजनल वन अधिकृत भट्टले मुख्यमन्त्री शाहले आफूलाई पाँच लाख रुपैयाँ घुस मागेको तर दिन नसकेपछि डिभिजन वन कार्यालय धनगढीको प्रमुखबाट हटाइएको दाबी गरे ।
भट्टलाई ३० साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट धनगढीबाट डिभिजन वन कार्यालय पहलमानपुरमा सरुवा गरिएको थियो।
ऐनविपरीत सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेका छन् । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तिम सुनुवाइमा पनि अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।