बलात्कार तथा हत्या घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण

धनगढी  : सुदूरपश्चिम प्रदेश सभाको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा हत्या घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीलाई बुझाएको ज्ञापनपत्रमा हिंसारहित समाज निर्माण सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा विशेष गरी सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया अनिशा विकमाथि भएको बलात्कारपछि हत्या अत्यन्तै दर्दनाक र निन्दनीय भएको जनाइएको छ ।

यस्तै, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१ मा १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनालगायत विभिन्न जिल्लामा घटिरहेका जघन्य अपराधप्रति पनि समितिले गम्भीर चिन्ता व्यक्त गरेको छ । समितिले यस्ता घटनामा संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न तथा पीडित पक्षलाई न्याय दिलाउन आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री सार्कीले बलात्कार र हत्याजस्ता घटना हुन नदिन र त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गराउन आवश्यक पहल गर्ने बताए ।

समितिका संयोजक सन्तोष शर्माले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ । ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको जनाइएको छ । ज्ञापनपत्र बुझाउन समितिका संयोजक शर्माको नेतृत्वमा प्रदेश सभा सदस्यहरू लक्ष्मी विक, गीतादेवी माल, तुलसी देवकोटा, खेमादेवी विष्ट, जानकीदेवी कुँवर र मधुदेवी भारती मन्त्रालय पुगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.