धनगढी : सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) प्रदीप कुमार पाल र लक्ष्मणबहादुर सिंहको पदावधि एक वर्ष थप गरिएको छ।
यसअघि सशस्त्र प्रहरी बल मुख्यालयले चार जना डीआईजीको पदावधि थपका लागि गृह मन्त्रालयमार्फत सिफारिस गरेको थियो। चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले भने प्राविधिक समूहका दुई जनाको मात्रै म्याद थप गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज छुटेका अन्य दुई जना—साधारण समूह–साधारण उपसमूहका डीआईजी पाल र सिंहको पनि एक वर्ष पदावधि थप गर्ने निर्णय गरिएको हो। हाल सिंह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत छन् भने पाल सशस्त्र प्रहरी बलको कार्य विभागमा कार्यरत छन्। पाल यस अगाडि सुदूरपश्चिममा उत्कृष्ट कमाण्ड गरेर त्यहाँ सरुवा भई गएका थिए।
बढुवा समितिले २०७८ फागुन २७ गते उनीहरूको नाम सिफारिस गरेको थियो। चार वर्षे पदावधि अनुसार उनीहरूको कार्यकाल चैत ५ गते सकिँदै थियो।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ (ग) अनुसार डीआईजी र एआईजीको पदावधि चार वर्षको हुने व्यवस्था छ। सोही दफाको उपनियम (२) मा भने महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले थप एक वर्ष पदावधि बढाउन सक्ने प्रावधान रहेको छ।
पदावधि थपसँगै पाल र सिंह आगामी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदका प्रमुख दाबेदारका रूपमा समेत हेरिएका छन्।