धनगढी । धनगढी उपमहानगरपालिकाले बढ्दो ध्वनी प्रदूषण नियन्त्रण गर्न नगरबासीलाई आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विवाह, व्रतबन्ध, सभा तथा चाडपर्वका अवसरमा प्रयोग हुने उच्च ध्वनिका उपकरणहरू नियन्त्रण गर्न आग्रह गरेको हो।
प्रमुख प्रशासकीय अधिकत नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘उपमहानगरपालिका भित्र सामाजिक परम्परा अनुसार हुने विवाह, व्रतबन्ध, सप्ताह एवम् चाडपर्व लगायत पूजा किर्तनहरुमा बजाइने माईक, डिजे जस्ता विधुतीय बाजा गाजा, प्रेसर हर्न र पटकाईने पटाकाको कारणले नगरवासीहरुलाई नकारात्मक असर परेको गुनासो बढ्दै गएको छ ।’
विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बिरामी व्यक्तिहरूमा समस्या देखिएको उपमहानगरले जनाएको छ। उपमहानगरले ध्वनि प्रदूषणका कारण वातावरणमा समेत प्रतिकूल प्रभाव परेको उल्लेख गर्दै राष्ट्रिय मापदण्ड २०६९ अनुसार ध्वनि नियन्त्रण गर्न सबैलाई अनुरोध गरेको छ ।
साथै, नियम उल्लंघन गरी अत्यधिक आवाज हुने सामग्री प्रयोग गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।