धनगढी । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी गरेको छ ।
पूर्व मुख्यमन्त्री समेत रहेका रावलको प्रदेश सभास्थित दलको कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो ।
युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ भने शिघ्र सम्पर्कमा आउन अनुरोध गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा सरसल्लाहमा नगरेको भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको जनाएको छ ।
प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यो विषयमा पार्टी केन्द्रलाई जानकारी गराएको बताए । उनका अनुसार अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा दलका नेताले पार्टीमा कुनै परामर्श नगरेर एकलौटी गरेपछि सो विषयमा केन्द्रमा जानकारी गराइएको हो ।