अत्तरिया : कैलालीको गोदावरी नगरपालिका,अत्तरिया स्थित पृथ्वीनगर टोलका स्थानीय बाबुराम बालम्पाकीले सरकारी स्वामित्वमा रहेको उद्योग निजीकरण भएपछि स्थानीयहरू बेरोजगार हुनुपरेको गुनासो गरेका छन्।
अत्तरियाको सृजनशिल यूवा क्लबद्वारा आयोजित एक कार्यक्रममा सांसद खेमराज कोइरालालाई स्वागत गर्ने क्रममा बोल्दै उनले अत्तरियामा रहेको दिव्यारोजिन टर्पेन्टाइन उद्योग पहिले सरकारद्वारा सञ्चालन हुँदा आफूले करिब १० वर्षसम्म रोजगारी पाएको बताए। तर पछि उद्योग निजीकरणमा गएपछि आफू सहित धेरै कर्मचारीहरू रोजगारीबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो।
२०६० सालदेखि निजी क्षेत्र (प्रा.ल) मार्फत लिजमा सञ्चालन हुँदै आएको उक्त उद्योगलाई नेपाल सरकार ले पुनः आफ्नो नियन्त्रणमा लिएर सञ्चालन गर्नुपर्ने उनले जोड दिए। यसो गर्न सकेमा तराईदेखि पहाडसम्मका करिब एक हजारभन्दा बढी व्यक्तिहरूले रोजगारीको अवसर पाउने विश्वास उनले व्यक्त गरे।
साथै, विदेशमा रहेका नेपाली नागरिकहरूलाई समेत आफ्नै गाउँठाउँमा फर्किएर परिवारसँगै बसेर काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग पहल गर्न उनले आग्रह गरेका छन्।