धनगढी, २५ वैशाख : आगामी जेठ ९ गते हुने नवजीवन सहकारी संस्था लिमिटेडको निर्वाचनलाई लक्षित गर्दै सञ्चालक समितिको अध्यक्ष पदका उम्मेदवार गोपालराज पाठकले चुनावी प्यानल सार्वजनिक गरेका छन्।
धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत पाठकले सहकारीभित्र सुशासन कायम गर्दै संस्थालाई प्रविधिमैत्री र उत्पादनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। दुई कार्यकालसम्म सञ्चालक समितिमा रहेर अनुभव हासिल गरेका पाठकले संस्थामा देखिएका विकृति अन्त्य गर्न “शून्य सहनशीलता” अपनाइने बताएका छन्। पाठकले भने, “नवजीवन सहकारीलाई पारदर्शी, प्रविधिमैत्री र सदस्यमैत्री संस्था बनाउँदै कारोबार र सुशासनका हिसाबले देशकै पहिलो सहकारी बनाउने हाम्रो लक्ष्य हो।”
उनले सहकारीको तरलता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै लगानीका नयाँ क्षेत्र पहिचान गरिने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरिने तथा निष्क्रिय कर्जा असुलीलाई प्रभावकारी बनाउन विशेष कार्यदल गठन गरिने जानकारी दिए।
पाठकले सदस्यमैत्री सेवा विस्तार, कर्मचारीलाई प्रविधिमैत्री बनाउने, अनलाइन कारोबार प्रवर्द्धन गर्ने र संस्थालाई देशकै उत्कृष्ट सहकारी बनाउने लक्ष्यसहित ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
यस्तो छ पाठकको प्यानल
पाठकको नेतृत्वमा उपाध्यक्ष पदमा उत्तम जोशी उम्मेदवार रहेका छन् भने सञ्चालक समिति सदस्यमा कोपिला कुँवर, गणेश बम, जगतराम चौधरी, जयराज जोशी, ठोमनाथ ढकाल (टीएन), भरतराज जोशी र लक्ष्मीराज पन्त रहेका छन्।
त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी तथा सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय उम्मेदवार रहेका छन्।
‘देशकै उत्कृष्ट सहकारी बनाउने लक्ष्य’
पाठक प्यानलले संस्थागत सुशासन, उत्पादनमुखी लगानी, सदस्य हित, प्रविधि विस्तार, भौतिक पूर्वाधार विकास तथा जनशक्ति क्षमतावृद्धिलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
प्रतिबद्धताअनुसार जोशीपुर सेवा केन्द्रमा भवन निर्माण, चौमाला सेवा केन्द्रका लागि जग्गा खरिद, आधुनिक सफ्टवेयर प्रयोग, अनलाइन सेवा विस्तार तथा नवजीवन खाद्य उद्योगको विस्तारलाई अगाडि बढाइने उल्लेख गरिएको छ। आगामी निर्वाचनसँगै नवजीवन सहकारीमा नेतृत्व परिवर्तनको चर्चा तीव्र भइरहेका बेला पाठक प्यानलको घोषणाले चुनावी माहोल थप तातिएको छ।