अत्तरिया : अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। संस्थाले भोली वैशाख २६ गते शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संस्थाको आफ्नै परिसरमा मतदान सञ्चालन गरिने जनाएको छ।
संस्थाका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन सम्पन्न गरिएको छ। मतदान प्रक्रियालाई सहज बनाउन मतदाताको नामावली अनुसार बुथ नम्बर तथा क्रम संख्या व्यवस्थित रूपमा मिलाइएको बताइएको छ।
यस निर्वाचनमा कुल ५ हजार ७ सय ४२ जना मतदाता सहभागी हुनेछन्। ठूलो संख्यामा मतदाता सहभागी हुने अपेक्षा गरिएकाले मतदान स्थलमा आवश्यक सुरक्षा, व्यवस्थापन तथा सहजीकरणका उपायहरू अपनाइएको संस्थाले जनाएको छ।
संस्थाले सम्पूर्ण मतदातालाई निर्धारण गरिएको समयमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै खानेपानी तथा सरसफाइ सेवाको थप प्रभावकारी व्यवस्थापन हुने अपेक्षा गरिएको छ।