५० प्रतिशत नेता निर्वाचनमा होमिएनन् : भीम बडुवाल

धनगढी । नेपाली कांग्रेसका नेता भीम बडुवाल ले विशेष महाधिवेशनलगत्तै निर्वाचन हुँदा नेपाली कांग्रेस धेरै क्षेत्रमा कमजोर बनेको बताएका छन् ।

नेपाली कांग्रेसले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले पार्टीको हारका विभिन्न कारणबारे चर्चा गरेका हुन् ।
उनले विशेष महाधिवेशनपछि पार्टीभित्रको सक्रियता कमजोर भएको पनि बताए । ‘विशेष महाधिवेशन भएको पाँच दिन नबित्दै निर्वाचनमा जानुपर्‍यो । त्यसपछि ५० प्रतिशतभन्दा बढी साथीहरू सक्रिय भएनन्,’ उनले भने ।

उनका अनुसार चुनावमा घरमै बस्नु पनि पार्टीप्रति असहयोग गर्नु सरह हो । उनले कांग्रेस सधैँ सरकार निर्माणमा केन्द्रित भएको तर पार्टी संगठन बलियो बनाउन ध्यान नदिएको बताए । ‘कांग्रेसले सधैँ सरकार बनायो, सरकारमै ध्यान दियो, पार्टीलाई ध्यान दिएन । त्यसैले पनि हामी पराजित भयौँ,’ उनले भने ।

बडुवालले २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई एक्लै चुनाव लडेको हेर्न कार्यकर्ताले चाहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग गठबन्धन गरेर चुनाव लड्दा कार्यकर्तामा निराशा पैदा भएको बताए ।

बडुवालले रवि लामिछाने र बालेन्द्र शाह को प्रभावले पनि कांग्रेसलाई असर परेको बताए ।’अहिले हामी निर्वाचनमा हार्यौँ भन्दैमा निराश हुनुहुँदैन, अब अझ सशक्त रूपमा अघि बढ्नुपर्छ,’ उनले कार्यकर्तालाई आग्रह गरे । हाल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका १६ जना उम्मेदवारहरूले निर्वाचनमा आफ्नो जित–हारबारे रिपोर्टिङ गरिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.