धनगढी : नेपाली कांग्रेसका सभापति गगन थापा ले नेकपा एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। ‘जरा अभियान’ अन्तर्गत शनिबार धनगढीमा आयोजित कार्यक्रममा उनले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताएका हुन्।
प्रदेशहरूमा एमाले–कांग्रेस समीकरण टुट्ने चर्चा भइरहेका बेला थापाले एमाले नेतृत्वसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि छलफल जारी रहेको बताए। उनले प्रदेश सरकारहरू प्रभावकारी ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए।
मधेश प्रदेशमा समेत विभिन्न दलसँग छलफल भइरहेको जानकारी दिँदै थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्कन आग्रह गरे। उनले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तामाथि कारबाही गरिने चेतावनीसमेत दिए।
“नेतासँग असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनाव लडेको उम्मेदवारलाई भोट हाल्दिन भन्न पाइँदैन,” उनले भने, “त्यस्तो गतिविधिमा संलग्न देखिएकालाई केही समय जिम्मेवारीबाट बाहिर राखिन्छ।”
थापाले यसपटक करिब १० लाख कांग्रेस समर्थक मतदाताले पार्टीलाई भोट नदिएको दाबी गर्दै कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारे। “हामी हार्यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन,” उनले भने।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको उल्लेख गर्दै कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। “हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ,” उनले भने।
सुशासनका सवालमा सरकारले गरेका सकारात्मक प्रयासलाई समर्थन रहने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए कांग्रेस ‘सतीसालझैं’ उभिने चेतावनी उनले दिए।
अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्याप्रति राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै थापाले “सनकको भरमा डोजर चलाउन हुँदैन, उनीहरूको पनि आत्मसम्मान हुन्छ,” भने।
कार्यक्रममा उनले शेरबहादुर देउवा सहित कांग्रेसका पूर्व सभापतिहरूको योगदान स्मरण गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताए। देउवाको स्वास्थ्य लाभको कामना गर्दै पछिल्लो समय आफूहरूबीच संवाद नभएको पनि उनले उल्लेख गरे।
थापाले चुनावअघि बनेको गठबन्धन नगर्न आफूले सुझाव दिएको तर तत्कालीन सभापति देउवाले नमानेको दाबी गरे। ‘जेनजी आन्दोलन’ अघिसम्म पनि सरकार छाड्नेलगायत सुझाव दिएको भए पनि कार्यान्वयन नभएको उनले स्मरण गरे। साथै, पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने तयारी भइरहेको पनि उनले बताए।